ठगीमा जोडिएको कम्पनीलाई चलचित्र प्रवर्धनको नाममा ३० लाख दिने तयारीमा विकास बोर्ड

ठगीमा जोडिएको कम्पनीलाई  चलचित्र प्रवर्धनको नाममा ३० लाख दिने तयारीमा विकास बोर्ड

काठमाडौँ : चलचित्र विकास बोर्डले सूर्य कर्पोरेसनलाई आर्थिक वर्ष २०७६-०७७ मा कला सम्बन्धी काम गर्न भन्दै पाँच लाख रुपैयाँ दिएको थियो।

पाँच लाख रुपैंया लिएको सो कम्पनी अहिले ठगी र मानवतस्करीमा जोडिएको छ। उसैलाई बोर्डले दुबईमा कार्यक्रम गर्ने भन्दै  ३० लाख दिने तयारी गरेको छ।

यो त्यही कम्पनी हो जसको कार्यालयमा वैदेशिक रोजगार विभागले केही दिन अगाडि छापा मारेर ८० वटा पासपोर्ट फेला पारेको थियो जसमा २० वटा पासपोर्ट कलाकारहरूको थियो।

सो कम्पनी लामो समयदेखि विभिन्न देशमा चलचित्र अनि साङ्गीतिक कार्यक्रमको आयोजना गर्दै त्यसैको आडमा ठगी र मानव तस्करीमा संलग्न देखिएको छ।

सूर्य कर्पोरेसनका बदमासीबारे त्यसका सञ्चालक वासुदेव लामिछानेसँग उकेराले मेसेन्जरबाट सम्पर्क राखेर जिज्ञासा राख्दा उनले आफू अहिले अमेरिकामा रहेको दाबी गरेका थिए।

सोमबार मात्रै उकेराले जापान लैजाने प्रलोभमा एक लाख २० हजार ठगीमा परेकी निरु लामाबारे जिज्ञासा राख्दा उनले आफू अमेरिकामा रहेकाले आफ्नो कार्यालयमा सम्पर्क राख्न भनेका थिए। तर मङ्गलवार बोर्डमा उनी आफैँ पुगेका थिए।

उनले विदेशी भूमिमा नेपाल चलचित्र प्रवर्धन गर्ने भन्दै ५० लाख सहयोग मागेका छन्। सन् २०२३ मा हुने बिगेस्ट कलिउड अवार्ड दाबी गरिएको कार्यक्रमको नोमिनेशन कार्यक्रम जापानमा, घोषणा दुबइमा र कार्यक्रम अमेरिकामा गर्ने उनको प्रस्तावमा उल्लेख छ।

उनले रकम निकासा गर्न आग्रह गरेपछि बोर्डका केही अधिकारीले' तपाईँहरूको कम्पनी त ठगीमा परेको हैन' भनेर सोध्दा वैदेशिक रोजगार विभागले सफाइ दिइसकेको दाबी गरेका थिए। बोर्ड स्रोतका अनुसार उनलाई रकम निकासा गराउन सञ्चार मन्त्रालयबाटै दबाब आइरहेको छ।

'५० लाख मागेका छन्। ३० लाखसम्म दिन बोर्ड नेतृत्व सकारात्मक देखिएका छन्,' बोर्ड स्रोतले भन्यो' मानव तस्करी र ठगीका घटना आएकाले विभागमा सोधेर मात्र प्रक्रिया अगाडि बढाउने तयारी छ।'

बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईँले सो कम्पनीबाट प्रस्ताव आएको तर सो पारित भए/ नभएकोबारे आफूकोमा सूचना नआइसकेको उकेरालाई जानकारी दिए।

छानबिनको सट्टा मिलापत्रमा जोड

कम्पनीले सूर्य इन्टरनेशनल अवार्डको नाममा जापान लगायतका देशमा चलचित्र सम्बन्धी अवार्ड कार्यक्रमको आयोजना गर्दै अनधिकृत व्यक्तिहरूलाई कलाकार भन्दै लगेर छाड्ने गरेको उकेराले पाएको विवरणले देखाउँछ।

ट्राभल्स कम्पनीको रूपमा खुलेको सो कम्पनीले अध्ययनसँगै कामदार भिसा समेत मिलाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेको विभागकै छापामा खुलेको थियो।

कलाकारलाई देखाएर ठगी गर्ने सूर्य कर्पोरेसनको जालोमा परेकी निरु, न जापान पुगिन् न पैसा फिर्ता भयो

कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने 'अवैध' सूर्य कर्पोरेसनमा छापा मार्दा चर्चित कलाकारका पासपोर्ट भेटियो

जापान पठाइदिने भन्दै पैसा लिएको भनेर केही व्यक्तिले गरेको उजुरीको आधारमा विभागले छापा मारेर पासपोर्टसँगै कर्पोरेसनका कर्मचारीलाई समेत पक्राउ गर्यो। ट्राभल्सको आवरणमा वैदेशिक रोजगारी सम्बन्धी अवैध काम गरेको प्रमाण फेला परे पनि विभागले थप अनुसन्धान अगाडि बढाउनुको साटो ठगीको गुनासो गर्नेहरूलाई चेक दिलाएर घटना त्यतिकै सामसुम बनाउने प्रयास गर्यो।

यसमा प्रहरीको समेत साथ देखियो। महानगरीय प्रहरी वृत्त कमलपोखरीमा सो इन्टरप्राइजेजका कर्मचारी थुनामा थिए। वैदेशिक रोजगारीसँगै ठगी समेत देखिएपछि प्रहरीले ठगीमा अनुसन्धान अगाडि बढाउन सक्थ्यो। तर उनीहरूलाई सहजै मुक्त गरिदियो।

सोमबार उकेराले जापान लैजाने भन्दै निरु लामासँग सूर्य इन्टरप्राइजेजले गरेको ठगीको घटना प्रमाणसहित सार्वजनिक गरेको थियो।

पुष ५, २०७९ मंगलबार २२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।