मेस्सी: बीबीसीद्वारा 'वर्ल्ड स्पोर्ट स्टार' घोषित

एजेन्सी: अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सी वर्षकै उत्कृष्ट खेलाडी चयन भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले विश्वप्रसिद्ध मेस्सीलाई विश्वकै उत्कृष्ट खेलाडीको सम्मान दिएको हो।
मेस्सीले पाएको उपाधिको नाम हो- 'बीबीसी स्पोर्टस पर्सोनालिटीज् वर्ल्ड स्पोर्ट स्टार अफ दि यर फर २०२२'। अर्थात् समग्र खेलकुद क्षेत्रकै वर्षको उत्कृष्ट खेलाडी।
विश्वकपको उपाधि जितेयता मेस्सी फुटबलको मात्र नभएर समग्र खेलकुद जगत्कै GOAT (Greatest of All Time) अर्थात् सर्वकालीन् महान् खेलाडी भएको बहस सुरु भएको छ। यहीबीच बीबीसीले उनलाई समग्र खेलकुद जगत्कै उत्कृष्ट खेलाडीको उपाधि दिनुले यस दावीमा थप आधार थपिएको छ।
सन् २०२१ को कोपा अमेरिका जितेयता मेस्सीले थप दुई ठूला उपाधि जितेका छन्। युरो कप २०२१ को विजेता इटाली र साविक विश्वविजेता फ्रान्सलाई हराउँदै मेस्सीको अर्जेन्टिनाले फिनालिसिमा र विश्वकपको उपाधि चुमेको छ।
३५ वर्षको उमेरमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताएका मेस्सीले फुटबलमा प्राप्त गर्न बाँकी उपाधि अब केही पनि छैन। सात बलोन डी ओर, चार च्याम्पियन्स लिग, १० ला लिगता, एक लिग वान, एक कोपा र एक विश्वकप मेस्सीको ट्रफी क्याबिनेटमा छन्।
यसबाहेक उनले प्राप्त गरेको गोल्डेन बल, गोल्डेन बुट जस्ता व्यक्तिगत उपाधि थुप्रै छ उनको नाममा। मेस्सीले आफ्नो करियरमा ७९३ गोल पनि गरेका छन्।
"सानो हुँदा सबैको सपना यही हुन्छ (विश्वकप)। म भाग्यमानी छु मैले सबैथोक पाएँ। र जे अपुग थियो त्यो यहाँ भेटाएँ", विश्वकप जितेपछि मेस्सीले प्रतिक्रिया दिएका थिए।
आगामी विश्वकपमा मेस्सी ३९ वर्षका हुन्छन्। यसअघि नै मेस्सीले आफू अर्को विश्वकप नखेल्ने बताइसकेका छन्। तर राष्ट्रिय टोलीका लागि भने मेस्सी अरू खेल खेल्नेछन्। उनकै भाषामा भन्दा 'विश्वविजेताको रूपमा थप केही खेल खेल्ने' उनको योजना छ।
बीबीसीको वर्ल्ड स्पोर्ट स्टार उपाधि एक वर्षमा कुनै पनि खेलाडीले प्राप्त गरेको उल्लेखनीय उपलब्धिका आधारमा दिइने गरिन्छ। सन् २०२१ मा यो उपाधि आयरल्याण्डकी घोडसवार खेलकी रचेल ब्ल्याकमोरले पाएकी थिइन्।
पुष ५, २०७९ मंगलबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।