फ्रान्स समर्थकले गिज्याएकाले 'विवादास्पद सेलिब्रेशन' गरेँ: अर्जेन्टिनी गोलकिपर मार्टिनेज

फ्रान्स समर्थकले गिज्याएकाले 'विवादास्पद सेलिब्रेशन' गरेँ: अर्जेन्टिनी गोलकिपर मार्टिनेज

एजेन्सी: लियोनल मेस्सीको प्रेरणामा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जित्यो। उपाधि जित्नुमा 'टिम गेम' महत्त्वपूर्ण भए पनि खेलको नायक सावित भए मेस्सी र गोलकिपर एमिलियानो मार्टिनेज।

सन् २०२१ को कोपा अमेरिका जिताउन पनि उनै मार्टिनेजको ठूलो भूमिका थियो। सेमिफाइनलमा कोलम्बियाविरुद्ध पेनाल्टी शुटआउटमा बहादुरीपूर्ण खेल प्रदर्शन गरेका मार्टिनेज बचाएको पेनाल्टीले उनलाई त्यसबेला नै 'डी एरिया'को नायक बनाएको थियो।

उक्त पेनाल्टी शुटआउटमा मार्टिनेजको 'माइण्ड गेम'ले ठूलो काम गरेको थियो। उनले कोलम्बियाका खेलाडीलाई दबाबमा राख्न सक्दो उक्साएका थिए।

लगभग त्यही दृश्य विश्वकपको क्वार्टरफाइनल र फाइनलमा पनि देखियो। मार्टिनेजले प्रतिस्पर्धी टोलीको अगाडि पुगेर बल फ्याँक्ने, 'पेनाल्टी प्रहार गर्न सक्दैनौ' भन्दै उक्साउने, नाच्ने, अनौठो शारीरिक हाउभाउ देखाउने लगायत रणनीति अपनाएर प्रतिस्पर्धीलाई दबाबमा राखे।

तस्बिर: गेट्टी इमेज । इन्टरनेट

तर उनले बचाएको पेनाल्टीको भन्दा पनि चर्चा चाहिँ सबैभन्दा बढी उनको सेलिब्रेशनको भइरहेको छ। विश्वकपकै उत्कृष्ट गोलकिपरको रूपमा 'गोल्डेन ग्लभ' पाएपछि मार्टिनेजले आफ्नो गुप्ताङ्गछेउ लगेर दर्शकदीर्घातर्फ देखाएका थिए।

कोपा अमेरिकामा पनि गोल्डेन ग्लभ जितेका मार्टिनेजले त्यसबेला पनि यस्तै सेलिब्रेशन गरेका थिए।

हाल चाहिँ एउटा गोलकिपरले पाउने विश्वकै प्रतिष्ठित पुरस्कार पाएर त्यसको अपमान गरेको भन्दै विश्वकप सकिएको दुई दिनपछि पनि विरोध भइरहेको छ।

तर यसबारे मार्टिनेजले आफ्नो धारणा अघि सारेका छन्। उनका अनुसार उनले उक्त विवादास्पद सेलिब्रेशन गर्नुको पछाडि फ्रान्सका समर्थक रहेका हुन्। "फ्रेन्चहरूले मलाई गिज्याएकाले मैले त्यसो गरेँ, मेरो अगाडि घमण्ड टिक्दैन" मार्टिनेजले भने।

यस्तै मार्टिनेजले आफ्नो गोल्डेन ग्लभ आफ्नो परिवारप्रति समर्पित गरेका छन्। 'म निकै सानो ठाउँबाट आएको हुँ। सानैमा इङ्ग्ल्याण्ड गएँ। म यो पुरस्कार परिवारलाई समर्पित गर्न चाहन्छु।'

यी सबै विवाद र चर्चाका बावजुद मार्टिनेजको स्पोर्टम्यानशिपको पनि हाल चर्चा भइरहेको छ। खेल सकिएपछि मार्टिनेज फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे भएको स्थानमा पुगेर उनलाई सान्त्वना दिएको दृश्य पनि यतिबेला भाइरल हुँदै गएको छ।

अर्जेन्टिनाको ड्रेसिङ रूममा पनि मार्टिनेजले टिमसँग एम्बाप्पेका लागि 'एकछिनको मौनता' गरेका थिए। तर, यो चाहिँ सम्मानमा थियो या अपमानमा त्यो उनैलाई थाहा छ।

पुष ५, २०७९ मंगलबार ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।