डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको सहयोग

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको सहयोग

काठमाडौं : डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ।

महानगरले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो।

गत कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए।

महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख रूपैयाँ सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताए।

‘भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौं र केही रकम आर्थिक सहयोग गरेका छौंं,’ मेयर बालेनले भने, ‘आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन्।’

उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको हो।

पुष ४, २०७९ सोमबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।