विश्वविजेता बन्नासाथ मेस्सीलाई कतारका एमिरले के लगाइदिए ?

एजेन्सी: ३६ वर्षपछि अर्जेन्टिनाले हिजो विश्वकपको उपाधि जित्यो। अन्तिम पटक सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा अर्जेन्टिनाले उक्त उपाधि चुमेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपको ट्रफी चुम्ने अवसर पाएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधि मात्रै जितेनन्। थुप्रै इतिहास बनाए। थुप्रै कीर्तिमान बनाए।
आफ्नो फुटबल करियरमा मेस्सीले जित्न बाँकी भनेको विश्वकपको उपाधि मात्र थियो। त्यो पनि हिजो प्राप्त गरेसँगै उनलाई GOAT (Greatest of All Time) अर्थात् सर्वकालीन् महान् खेलाडीको रूपमा समेत मानिएको छ।
कतारको लुसेल रङ्गशालामा भएको फाइनल खेलमा मेस्सीको टिमले उपाधि मात्र जितेन, उनी स्वयंले दुई गोल गरे। प्रतियोगिताभर गरेको उत्कृष्ट प्रदर्शनले उनलाई गोल्डेन बलको ट्रफी पनि दिलायो। यो ट्रफी दुई पटक प्राप्त गर्ने मेस्सी हालसम्म एक मात्र खेलाडी हुन्। सन् २०१४ को विश्वकपको फाइनलमा उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल पाएका थिए।
तर हिजो पुरस्कार वितरण समारोहमा फिफाले नदिने पुरस्कार पनि पाए मेस्सीले। कतारका एमिर अर्थात् राजा तमिम बिन हमाद अल थानीले मेस्सीलाई कालो र सुनौलो रङ्गको एक कपडा पहिराएका थिए। के थियो त्यो?
विश्वकप विजेताको गोल्डमेडल पाएपछि विश्वकपको ट्रफी उचाल्नुअघि उनलाई एमिरले लगाइदिएको कपडा हो- बिश्त। यो खासगरी एमिर र कतारका मन्त्रीहरू तथा भीआईपीहरूले कतारको 'नेशनल डे' (राष्ट्रिय दिवस)मा लगाउने कपडा हो। उक्त नेशनल डे हिजै थियो।
कतारका एमिरको उक्त व्यवहारलाई लियोनल मेस्सीप्रतिको सम्मानको रूपमा ठानिएको छ।
बिश्तलाई कतारमा महत्त्वपूर्ण समारोहमा लगाउने गरिन्छ। कतारका नागरिकको विवाहमा बुवाले छोरालाई लगाइदिने गर्छन्। र सधैँ लगाउन चाहिँ कतारका एमिरले मात्र पाउँछन्।
पुष ४, २०७९ सोमबार १०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।