कति मानिसले हेर्दै छन् विश्वकपको फाइनल?

एजेन्सी। चार वर्षमा एक दिन मात्र आउने फिफा विश्वकपको फाइनल हेर्न विश्वभरका फुटबलप्रेमी प्रतिक्षारत रहने गर्छन्। आज राती हुने अर्जेन्टिना र फ्रान्सबीचकाे कतार विश्वकप २०२२ को फाइनल खेल पनि धेरैको लागि पर्खाइको क्षण हो।
फुटबलको लोकप्रियता बढीरहेको अवस्थामा यो पटकको फाइनल खेल हेर्ने क्रममा पनि नयाँ कीर्तिमान बन्ने अनुमान गरिएको छ। संसारभरिका दर्शकले टेलिभिजन र लाइभ स्ट्रिमिङमा गरेर याे पटककाे फाइनलमा २०१८ को विश्वकपको रेकर्डलाई तोड्ने छन्।
फाइनल खेल स्टेडियमबाट नै हेर्नका लागि विश्वभरबाट हजारौं समर्थक कतार पुगेका छन् भने। करोडौं फुटबलप्रेमीले भने घरबाट नै यसकाे प्रत्यक्ष प्रसारण हेर्ने छन्।
कतारको राजधानी दोहाबाट २० किलोमिटरको दुरीमा रहेको लुसेल स्टेडियममा यो संस्करणको फाइनल खेल हुँदैछ। आयोजक कतारका अनुसार करिब ८० हजार दर्शकले स्टेडियमबाट प्रत्यक्ष खेल हेर्ने छन्। यस स्टेडियमको क्षमता ८८ हजार ९६६ जनाकाे रहेको छ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाको आधिकारिक तथ्यांकअनुसार सन् २०१८ को फाइनल खेलकाे प्रत्यक्ष प्रसारण एक अरब १२ करोड मानिसले हेरेका थिए।
फाइनल खेलको कुनै न कुनै अंश हेर्ने मानिसको संख्या करिब तीन अरब ५७ करोड थियो। यस कतार विश्वकपको फाइनल खेल हेर्नेको संख्या भने करिब एक अरब ५० करोड पुग्ने अनुमान गरिएको छ।
यसअघि सन् २०१० को विश्वकपको फाइनल ९० करोड मानिसले हेरेका थिए भने सन् २०१४ का पहिलोपटक एक अरबको आँकडा पार भएको थियो।
पुष ३, २०७९ आइतबार १४:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।