एमाले सचिव विष्टको दावी: सरकारमा नजाने, अर्थतन्त्रमा सङ्कट आउनसक्ने भएकाले जिम्मेवार प्रतिपक्ष रहने

एमाले सचिव विष्टको दावी: सरकारमा नजाने, अर्थतन्त्रमा सङ्कट आउनसक्ने भएकाले जिम्मेवार प्रतिपक्ष रहने

बुटवल: नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताएका छन्। निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले एमालेले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्ने उनको भनाइ छ।

आइतबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै एमाले सचिव विष्टले सबैभन्दा ठूलो दल कांग्रेसले सरकार गठन गर्न सकेन भने मात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औंल्याउँदै तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको बताए।

समानुपातिक मतपरिणाममा एमाले पहिलो दल बने पनि प्रत्यक्षको परिणामका आधारमा दोस्रो दल बनेकोले आगामी पाँच वर्ष प्रतिपक्षमै रहेर लोकतन्त्र, सामाजिक रूपान्तरण र विकासका मुद्दालाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

‘जनताले एमालेलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन्। त्यसैले सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा हामी छैनौँ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन। तर, बाध्यात्मक परिस्थिति आयो भने लोकतान्त्रिक मूल्य मान्यताअनुसार नेतृत्त्व लिन पहल पनि गर्छौँ,’ विष्टले भने।

यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्त्वपूर्ण सन्देश दिएको उनले बताए। एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको भन्दै मतदातालाई धन्यवाद दिए।

वाम पार्टीको नामबाट राष्ट्रिय स्वाधिनताको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने उनले दावी गरे।

चुनावमा कसैको बहुमत नआएकाले आउँदो पाँच वर्ष मुलुकमा अस्थिरता भइरहने र अर्थतन्त्र संकटमा पर्नसक्ने भन्दै एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने विष्टले बताए।

पुष ३, २०७९ आइतबार १३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।