फाइनलमा क्रिष्टियानो रोनाल्डोको समर्थन कसलाई ? मेस्सी र अर्जेन्टिना कि एम्बाप्पे र फ्रान्स ?

एजेन्सी: विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो र उनको टिम जारी विश्वकपबाट बाहिरिसकेको छ। मोरक्कोसँग क्वार्टरफाइनलमा १-० गोलअन्तरले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको हो।
क्रिष्टियानो रोनाल्डोको अन्तिम विश्वकप र उपाधि जित्ने अन्तिम अवसर भएकाले पनि यो विशेष थियो। तर लगातार दुई खेलमा सुरुआती ११ भित्र अटाउन पनि मुस्किल भएपछि रोनाल्डोका लागि यो विश्वकप खासै सम्झनयोग्य भने छैन।
यद्यपि उनको लागि विश्वकप सकिएको छैन। विश्वविजेता को बन्छ भन्ने कौतुहल उनका पनि छ। धेरैलाई लाग्ला उनले फ्रान्सको समर्थन गर्दैछन्। एक त फ्रान्सका किलियन एम्बाप्पे रोनाल्डोका 'डाइहार्ड' फ्यान अर्कोतर्फ अर्जेन्टिनामा रोनाल्डोका परस्पर प्रतिस्पर्धी लियोनल मेस्सी। यस्तोमा उनले फ्रान्सलाई समर्थन गर्नसक्ने आधार छँदैछ।
तर सबैलाई चकित तुल्याउने कुरा के हो भने- रोनाल्डोको समर्थन अर्जेन्टिनातर्फ हुनसक्ने देखिएको छ। अहिले सामाजिक सञ्जालमा रोनाल्डोको पुरानो भिडियो भाइरल भइरहेको छ। जहाँ उनले अर्जेन्टिना र त्यहाँका नागरिक आफूलाई मनपर्ने बताएका छन्।
रोनाल्डोले अर्जेन्टिना मनपर्ने कुरा किन गरे भन्दा उनको गर्लफ्रेन्ड अर्जेन्टिनी हुन्। जर्जिना रोड्रिगुएजसँग अझै पनि अर्जेन्टिनाकै नागरिकता रहेको छ। यसैकारण विश्वकपको उपाधि भिडन्तमा रोनाल्डोको समर्थन मेस्सी र अर्जेन्टिनामा हुनसक्ने आकलन धेरैले गरेका छन्।
"मेरो गर्लफ्रेन्ड अर्जेन्टिनी हुन्। धेरैलाई थाहा छैन उनी आधा अर्जेन्टिनी र आधा स्पेनिस हुन्। मलाई पनि अर्जेन्टिना मनपर्छ। धेरैलाई लाग्छ मलाई अर्जेन्टिना मन पर्दैन भनेर। तर मलाई अत्यधिक मनपर्छ," रोनाल्डोले भनेका छन्।
पुष ३, २०७९ आइतबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।