नेपाल अफगानिस्तान र युक्रेन हुनसक्छ : गुरुङ

काठमाडौं : माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपाल युक्रेन र अफगानिस्तान हुनसक्ने बताएका छन्।
काठमाडौंमा शुक्रबार भएको एक साक्षात्कार कार्यक्रममा गुरुङले चुनावको परिणामले दलहरूबीच द्वन्द्व र अविश्वास बढाउनसक्ने बताउँदै गुरुङले दलहरूबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने बताए।
‘अहिलेको चुनावले केही नयाँ संकेत गरेको छ, नयाँ दलहरूको मिसन र भिजन प्रष्ट भइसकेको छैन। उनीहरू कतातिरको बाटोमा हिँड्ने हुन हेर्न बाँकी छ तर पनि प्रणालीमाथि केही प्रश्न उठेका छन्। दल र नेताहरूले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र युक्रेन नहोला भन्न सकिँदैन’ गुरुङले भने।
राष्ट्रिय स्वधिनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिबद्धताका आधारमा गुरुङले आफूहरुको सहकार्य हुने बताए।
महासचिव गुरुङले देशको अभिभावक तथा अहिलेको परिवर्तनको संवाहक जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दल र नेताहरु भएको बताए। उनले शान्तिप्रक्रियामार्फत अहिलेको अवस्थामा दलहरू पुगेको बताए।
उनले भने, ‘जनयुद्ध र जनआन्दोलनको नेतृत्त्वकर्ता दलहर्र देशका अभिभावक हुन्। मुख्यगरी विचार र सिद्धान्त र अहिलेको परितर्वनको हिसाबले माओवादी देशको अभिभावक हो। यो जिम्मेवारीबाट पछि हट्नुहुँदैन। शान्तिप्रक्रियाका हस्ताक्षरकर्ता भएकोले प्रचण्डले अबको सरकारको नेतृत्त्व गर्नुपर्छ।’
विश्वमै कम्युनिष्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताए। उनले आफूहरूले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताए। पार्टीले चुनावको गम्भीर समिक्षा गरेर अगाडि बढ्ने बताए।
एक अर्को प्रसङ्गमा गुरुङले गैर राजनीतिक पृष्ठभूमिबाट राष्ट्र प्रमुख बनाउने कुरा व्यवस्थाको विरुद्धमा हुने बताए।
गुरुङले भने, ‘केही दिनयता सञ्चारमाध्यमहरूमा गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने हल्ला चलेको छ। यो यादि सत्य हो भने घुँडा टेकुवा प्रवृति हो। यो अहिलेको व्यवस्थाबाट विचलन भएर निर्दलीय व्यवस्थामा जाने कुरा हो। यसलाई मान्न सकिँदैन। दलीय व्यवस्थामा देशको नेतृत्त्वकर्ता नेताहरू नै हुन्। उनीहरूको विकल्प खोज्नु घातक हुन्छ।’
कार्यक्रममा हुम्लाबाट हालै सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा, प्रदेशसभा सदस्य रणसिंह परियार, जुम्कित लामा कार्की विजया बोहोरा र प्रदेशसभा सदस्य कलबहादुर हमाललाई बधाई तथा सम्मान गरिएको थियो।
पुष १, २०७९ शुक्रबार १६:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।