वृद्धा महिलालाई फकाएर २७ लाखको सुनका गहना चोरी, महिला पक्राउ

कास्की : वृद्धा महिलाहरूलाई फकाएर २७ लाखको सुनका गहना चोरोको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
२७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका–६ घर भई कास्की पोखरा महानगरपालिका–४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी वृद्धा महिलालाई फकाएर वृद्धाहरूले घाँटी तथा कानमा लगाएका र घर कोठामा राखेका विभिन्न गहना र नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न श्रेष्ठलाई चोरी भएका धनमाल मध्ये तिलहरि १ थान, औंठी १ थान, फूली १ थान, सिक्री, वाला, औंठी, मोबाइलको साथै चोरी गर्दा लगाएको कपडा सहित पक्राउ गरेको हो।
उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ।
पुष १, २०७९ शुक्रबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।