सुर्खेतमा बुद्ध एयरले सुरु गर्‍यो ठूलाे जहाजमार्फत् नियमित उडान

सुर्खेतमा बुद्ध एयरले सुरु गर्‍यो ठूलाे जहाजमार्फत् नियमित उडान

काठमाडाैं ः सुर्खेत विमानस्थलमा आजदेखि निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर-७२ जहाजमार्फत् नियमित उडान थालेकाे छ। उक्त गन्तव्यमा आजदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान गरिएको थियो। परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको हो।

प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुध्द एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी गराए। 

अब बुध्द एयरको एटिआर ७२ जहाजले काठमाडौं–सुर्खेत गन्तव्यमा दैनिक एक उडान गर्नेछ। यसअघि कम्पनीले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत् उक्त गन्तव्यमा दैनिक एउटा उडान गर्दै आएको थियो।

ठूला जहाजमार्फत् उडानले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासका सहयोगी हुने विश्वास लिइएको छ। एटिआर–७२ जहाजमार्फत् नियमित उडान भएपछि उक्त रुटको हवाई भाडा पनि सस्तो हुने प्राधिकरणका प्रवक्ता निरौलाको भनाइ छ। 

पुष १, २०७९ शुक्रबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।