एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ : सूर्य थापा

बुटवल : एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले देशलाई स्थिरता दिन एमाले र नेपाली कांग्रस मिलेर सरकार बनाउनुपर्ने बताएका छन्।
देशलाई स्थिरतातर्फ लैजान कांग्रेस र एमालेबीच आधा–आधा नेतृत्त्व समाल्ने सहमति गरेर भएपनि देशका दुई ठूला पार्टी मिलेर सरकार चलाउनुपर्ने बताए।
बुटवलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले अहिलेको परिवेशमा वामपन्थीको सरकार असम्भव रहेको भन्दै दुई पार्टी मिलेर सरकार बनाएमा मात्र देशलाई स्थिरता दिन सकिने बताए।
साथै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्त्वमा एमालेले सरकारमा जाने निर्णय स्वीकार गर्न नसकिनेसमेत बताए। त्यसो भए पार्टीमा ‘नोट अफ डिसेन्ट’ लेख्नेसमेत उनले बताए।
ओलीको नेतृत्त्वमा जानुपरे माओवादी केन्द्रको सहयोग लिन सकिने तर प्रचण्डलाई नेतृत्त्व नमान्ने उनले स्पष्ट पारे।
जनताहरू बामपन्थी बीचमा मिलन भएर पहिलेको जस्तै गाईजात्रा होस् भन्ने पक्षमा नरहेको भन्दै अहिलेको अवस्थामा वामपन्थी भन्नु एमाले मात्रै रहेको उनले स्पष्ट पारे।
वामपन्थीको अभ्यास असफल भइसकेको र यसअघि नै धोका भइसकेको भन्दै अब वाममपन्थी एकताको कुनै अर्थ नरहेको उनले बताए।
विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने उनको भनाइ थियो।
मंसिर २९, २०७९ बिहीबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।