व्यापारघाटा १६ प्रतिशतले घट्यो, गलैंचा र तयारी पोशाकको निर्यात बढ्यो

व्यापारघाटा १६ प्रतिशतले घट्यो, गलैंचा र तयारी पोशाकको निर्यात बढ्यो

काठमाडौं : नेपालको व्यापारघाटा १६ प्रतिशतले घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको विवरणअनुसार व्यापार घाटामा १५.९ प्रतिशतले घटेको हो।

‘आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई रु.४७७ अर्ब ९२ करोड कायम भएको छ,’ बैंकले भनेको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५६.८ प्रतिशतले बढेको थियो।’

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.६ प्रतिशत रहेको थियो।

भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वद्धि भएको छ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई रु.५३२ अर्ब ६९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन, घ हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एम.एस.विलेट, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ।

मंसिर २९, २०७९ बिहीबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।