८ प्रतिशतले बढ्यो मूल्यवृद्धि, होटल तथा रेस्टुरेन्ट १६ प्रतिशतले महङ्गियाे

काठमाडाैं : नेपालमा ८ प्रतिशतले मूल्यवृद्धि (मुद्रास्फीति) भएकाे छ।
नेपाल राष्ट्र बैंकले बिहीबार चालू आर्थिक वर्षको ४ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै कात्तिक महिनाको बजार महंगी ८.०८ प्रतिशत कायम रहेको जनाएको छ।
यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिमा ६.०४ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ।
यस्तै, गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ८.३३ प्रतिशतले बढेको बैंकले जनाएको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत रहि मालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ कात्तिक महिनामा यी क्षेत्रहरूमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मुद्रास्फीति रहेको थियो।
मंसिर २९, २०७९ बिहीबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।