‘अध्यादेश जारी नभएर आन्दोलन’

काठमाडौं : तीन राजनीतिक दलले सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।
संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरेर नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्च र बहुजन शक्ति पार्टीले चेतावनी दिएको हो।
कार्यक्रममा बोल्दै बहुमत शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री बिसेन्द्र पासवानले राजनीतिक आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लगाइएका झुटा मुद्दा खारेज गरिनुपर्ने बताए।
पासवानले सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको तर यतिमात्रै नपुग्ने भन्दै विना कारण जेल, कारागारमा राखिएकाहरुलाई क्षतिपूर्तीसहित आममाफी दिन मागसमेत गरे।
पूर्वमन्त्री समेत रहेका पासवानले अध्यादेश पास नगरे राष्ट्रपतिको नाम इतिहासको कलंकित व्यक्तिको नाम सम्झिनुपर्ने अवस्था आउने चेतावनी दिए। उनले भण्डारीलाई राष्ट्रपति बनाउन आफूहरूले सहयोग गरेको समेत दाबी गरे।
त्यसैगरी नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैजुले जेलसजाय भोगिरहेकाहरूलाई जेलबाट रिहाइ गर्नुपर्ने भन्दै एउटा जेलमा रहेको व्यक्तिले गर्दा परिवार बर्वाद हुने अवस्थमा रहेको समेत बताए। सैजुले अध्यादेश रोक्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे।
खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले राष्ट्रपतिले अध्यादेश तुरुन्त जारी गर्नुपर्ने धारणा राखे। अध्यादेश रोक्न खोज्नु भनेको देशमा द्वन्द्व बढाउने कुरा भएको बताए।
कारागारमा रहेका रेशम चौधरीलाई जनताले अनुमोदन गरी सकेको बताउँदै अध्यादेश जारी गरेर रिहाई गरिनुपर्ने उनले बताए।
कार्यक्रममा वक्ताहरूले शान्तिपूर्ण राजनीतिमा आउन चाहने शक्तिहरूलाई मुलधारमा ल्याउनु आजको आवश्यकता भएको भन्दै अध्यादेश अविलम्व जारी गरिनुपर्ने धारणा राखे।
मंसिर २९, २०७९ बिहीबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।