भारतका कालिचिता पहलवानलाई हराउँदै अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नवलपरासीका थापाले जिते उपाधि

भैरहवा: लुम्बिनी राष्ट्रिय महोत्सवका अवसरमा भैरहवामा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका वसन्त थापाले हात पारेका छन्। बुधबार भएको फाइनल खेलमा भारत पञ्जावका कालिचिता पहलवानलाई पराजित गर्दै थापा पहिलो भएका हुन्।
कालिचिताले दोस्रो स्थानमा चित्त बुझाए। पहिलो स्थान हासिल गर्न सफल थापाले २५ हजार रुपैयाँ प्राप्त गरे भने दोस्रो भएका कालिचिताले १५ हजार रुपैयाँ प्राप्त गरे।
यस्तै, पञ्जावकै अशोक पहलवान तेस्रो भए। वीरगञ्जका बाबा पहलवानले प्रतिस्पर्धा नगरेपछि अशोक तेस्रो भएका हुन्। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे।
विजेता खेलाडीहरूलाई महोत्सव एवं कुस्ती प्रतियोगिता आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कोषाध्यक्ष गोविन्द ज्ञवाली, खेल संयोजक हरिबहादुर थापा, प्रचारप्रसार संयोजक कृष्णप्रसाद घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रशासन प्रमुख शेखरनाथ पन्थी लगायतले नगद, ट्रफी र मेडल प्रदान गरेका थिए।
मंसिर २३ बाट सुरु महोत्सवमा २६ देखि २८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको थियो। कुस्तीको लोकप्रियतालाई कायम राख्दै महोत्सवमा अधिक दर्शक भित्र्याउन र खेल संस्कृतिको विकास गर्न भन्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो।
कुस्तीमा नेपालका आठ र भारतका पुरुष तथा महिला गरी १४ जना पहलवानहरूले प्रतिस्पर्धा गरेका थिए। कुस्ती हेर्न गाउँगाउँबाट दर्शकहरूको महोत्सवस्थलमा घुइँचो लागेको थियो।
मंसिर २९, २०७९ बिहीबार ०९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।