बुटवलमा हुने महोत्सवको उद्घाटन राष्ट्रपतिले गर्ने, तयारी तीव्र र स्टल दर्ता अन्तिम चरणमा 

बुटवलमा हुने महोत्सवको उद्घाटन राष्ट्रपतिले गर्ने, तयारी तीव्र र स्टल दर्ता अन्तिम चरणमा 

बुटवल: ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आउँदो पुस ७ गतेदेखि बुटवलमा '१५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९' हुने भएको छ। स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यले सञ्चालन हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन्।

रुपन्देही उद्योग संघको आयोजनामा बुटवल मण्डपमा निमार्णाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीको उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुटवल आउने निश्चित भएको संघका अध्यक्ष माधवप्रसाद पौडेलले बताए। प्रदर्शनी अघिल्ला वर्षहरूभन्दा पृथक बनाउने सोचका साथ काम भइरहेको उनले बताए। 

संघका अनुसार प्रदर्शनीस्थलमा निर्माणकार्य तीव्र गतिमा भइरहेको छ। प्रदर्शनी मूल आयोजक समितिका संयोजक समेत रहेका पौडेलले प्रदर्शनीको निर्माणकार्यलाई अन्तिम रूप दिनेगरी विभिन्न उपसमिति गठनगरी काम अगाडि बढाएको र आन्तरिक योजनाहरू बनेको बताए।

प्रमुख अतिथिका रूपमा राष्ट्रपति आउने भएपछि आयोजनास्थलको सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनको कामलाई विषेश ध्यान दिँदै सुरक्षा निकाय एवं स्थानीय प्रशासनसँगको समन्वयलाई प्राथमिकतामा राखिएको पौडेलले जानकारी दिए।

आयोजनास्थलमा प्रदर्शनीमा आउने स्वदेशी उत्पादनलाई राख्ने स्टल यसपटक आधुनिक हुने र त्यसको काम शुक्रबारबाट सुरु हुने, सचिवालय तथा गेट निर्माण तथा मञ्चको काम अगाडि बढेको प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव हरिबहादुर खत्रीले बताए।

खत्रीले स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको बताउँदै यसपटक विभिन्न प्रकृतिका १० वटा पभेलियनमा करिब चार सय स्टल रहने जानकारी दिए।

बुटवल–१० बुटवल मण्डपमा प्रदर्शनी सञ्चालन हुने प्रदर्शनी सुरु हुनुभन्दा अगाडि सम्पन्न गर्नु पर्ने कामका लागि गठन गरिएका उपसमितिहरूको दैनिकजस्तै बैठकहरु बस्ने र कामको समीक्षा गर्ने गरिएको प्रदर्शनी प्रवन्धक यादवप्रसाद भण्डारीले बताए।

मूल समितिका सहसंयोजक एवं स्टल दर्ता उपसमितिका संयोजक दिलीप सापकोटाले प्रदर्शनीमा प्रविधिलाई विशेष प्राथामिकता दिँदै प्रदर्शनीस्थलमै ठूला उद्योगका उत्पादनको प्रत्यक्ष अवलोकन गर्ने अवसर दिनेगरी छुट्टै स्टल क्षेत्र निर्माण भएको जानकारी दिए।

प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुराँ, कृषि, हस्तकला, फलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटी लगायतका स्टल रहने छन्। प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

प्रदर्शनी अवधिमा सूचना केन्द्रको स्थापना र प्रशारण, औद्योगिक गोष्ठी, कार्यशाला र अन्तरक्रियाको आयोजना, राष्ट्रिय कलाकारहरूको प्रस्तुति, जाति जनजातिहरूको झाँकी, सांस्कृतिक कार्यक्रमको आयोजना, विभिन्न प्रतियोगिताहरू समेत गरिने छ।

प्रदर्शनीको पूर्व सन्ध्यामा पुष ६ गते औद्योगिक जनचेतना र्याली निकालिने र्याली व्यवस्थापन उपमितिका संयोजक चन्द्रकान्त खनालले बताए।

प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु हुने र्याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाइन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुँदै पुनः प्रदर्शनीस्थलमा आएर समापन हुनेछ।

मंसिर २९, २०७९ बिहीबार ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।