नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने, आज राष्ट्रपतिलाई प्रतिनिधि सभाको परिणामको प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं: निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को परिणामको प्रतिवेदन बुझाउने भएको छ। प्रत्यक्षतर्फ १६५ तथा समानुपातिकतर्फको ११० सदस्यको टुङ्गो लागेसँगै आज बिहान १० बजे आयोगले प्रतिवेदन बुझाउने भएको हो।
प्रतिनिधि सभाको हकमा आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक प्रावधान छ। यस्तै प्रदेश सभाको हकमा प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पठाउनु पर्नेछ।
आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ। अब वर्तमान सरकारले नवगठित प्रतिनिधि सभाको बैठक आह्वान गर्न मिति तोक्दै राष्ट्रपतिलाई सिफारिस गर्नेछ। र, राष्ट्रपतिले संसद् बैठक आह्वान गरेपछि सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन्।
उनले त्यसपछि प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरूलाई शपथ गराउने छन्।
यसैगरी प्रदेश सभातर्फको नतिजाको प्रतिवेदन भने आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखहरूलाई बुझाइने भएको छ। प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन बुझाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित हुनेछ।
मंसिर २९, २०७९ बिहीबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।