सागर ढकालकाे चुनाव खर्च ८ लाख ६७ हजार, उठ्याे १७ लाख ३८ हजार

काठमाडौं : प्रधानमन्त्रीविरुद्ध डडेल्धुराबाट चुनाव लडेका सागर ढकालले निर्वाचनमा ८ लाख खर्च भएको बताएका छन्।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहँदा चुनावी गतिविधिमा ८ लाख ६७ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको बताएका हुन्।
आइतबार निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले डडेल्धुरामा सम्पर्क कार्यालय स्थापना र सञ्चालनमा १ लाख २४ हजार, कार्यालय व्यवस्थापनमा ८० हजार ९ सय ११ रूपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
होटलमा बस्न, खानमा २ लाख ७५ हजार १ सय ७, स्टेसनरी, इन्टरनेटमा ४२ हजार १ सय ४०, भिडिओ, रेडियोमा प्रचार, छपाइ आदिमा १ लाख ११ हजार १ सय २० रूपैयाँ खर्च भएको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
पेट्रोल, डिजेलमा ९० हजार ३ सय ३०, काठमाडौंदेखि डडेल्धुरा आउन यातायातमा ५४ हजार ८ सय १५, मोटरसाइकल मर्मत ५१ हजार ७ सय ८५ र अन्यमा ३७ हजार ७ सय ७० रुपैयाँ ढकालले खर्च गरेका छन्।
ढकालले सो रकम सहयोगबापत आफूले प्राप्त गरेको भनेका छन्। सामाजिक सञ्जालमा ढकालले सार्वजनिक गरेको खर्च विवरणमा १ देखि १०० रपैयाँ दिने ५०० जना रहेको बताएका छन्।
यस्तै, १ सयदेखि १ हजार दिने ९ सय जना रहेको ढकालले भनेका छन्। ढकाललाई १ रुपैयाँ दिने २ जना र १० रुपैयाँ दिने ८ जना रहेको उल्लेख छ।
‘खासमा यो पैसा होइन, यो पैसासँग दाँज्न नमिल्ने माया हो। म नतमस्तक छु हजुरहरूले देश बनाउने युवाहरूलाई आत्मादेखि समर्थन गरिदिनुभएकोमा,’ उनले लेखेका छन्।
चुनावमा खर्च नभएर बचेको बाँकी रकम पहिले भने अनुसार डडेल्धुराको लागि नै खर्च गर्ने ढकालको भनाइ छ।
मंसिर २८, २०७९ बुधबार १२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।