मेस्सीले भने– ‘यो मेरो अन्तिम विश्वकप’

काठमाडौं : अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्।
पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल डिसेम्बर १८ आइतबार हुनेछ।
दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीच हुनेछ। क्रोएसियाविरुद्धको खेलमा मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। उनले पेनाल्टीमा गोल गर्नुका साथै अल्भारेजको एक गोलमा असिस्ट पनि गरेका थिए।
‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु। यो एकदमै सुखद हो। यो विश्वकपमा जे भयो, त्यो निकै भावुक छ,’ खेलपछि मेस्सीले भने, ‘अर्को विश्वकप आउन अझै धेरै समय छ। त्यहाँसम्म पुग्न सक्छु जस्तो लाग्दैन मलाई। फाइनल पुगेर विश्वकपको यात्रा समाप्त हुनु राम्रो कुरा हो।’
३५ वर्षीय मेस्सीको यो पाँचौं विश्वकप हो। यस विश्वकपमा उपाधि जितेर सपना पूरा गर्ने आशा राखेका उनले सात पटक विश्वकै उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन्।
एक पटक फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। गत वर्ष कोपा अमेरिकाको उपाधि पनि अर्जेन्टिनाले नै जितेका थिए।
मंसिर २८, २०७९ बुधबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।