लियाेनल मेस्सी : महान फुटबलर पेले र म्याराडोनाबाट अब कति टाढा?

लियाेनल मेस्सी : महान फुटबलर पेले र म्याराडोनाबाट अब कति टाढा?

काठमाडौं : चाहे त्यो जोश हो वा फाइनल पुग्दाको खुशी अथवा यी सबको संयोजन नै किन नहोस्।

सेमिफाइनलमा क्रोएसियालाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले मनाएको त्यो उत्सवलाई दर्शकले लामो समयसम्म सम्झिरहनेछन्। मैदानमा गोलो घेरा बनाएर खुसी मनाउँदै खेलाडीहरू अर्कै संसारमा पुगेका थिए। त्यो संसारको नाम हो ‘विश्वकप फुटबलको फाइनल’

विश्वकप खेल्न आएका ३२ मध्ये दुई टोली मात्र फाइनलसम्म पुग्छन्। अर्जेन्टिना छैटौं पटक फाइनल पुगेको छ। यसअघि यो टोली सन् २०१४ मा पनि फाइनलमा पुगेको थियो। सेमिफाइनलमा प्लेयर अफ द म्याच चुनिएका लियोनल मेस्सी त्यतिबेला २७ वर्षका थिए।

अर्जेन्टिनाले अन्तिम पटक सन् १९८६ मा विश्वकप जित्दा मेस्सीले त्यो खुसी अनुभव गर्न त के देख्नसमेत पाएनन्। उनी त्यसको एक वर्षपछि मात्रै सन् १९८७ मा जन्मिएका हुन्। अर्जेन्टिनाले पहिलोपटक सन् १९७८ मा विश्वकप जितेको थियो।

भूत र भविष्यभन्दा वर्तमानलाई हेर्नेहरूमध्ये धेरैले मेस्सीको निपुणता र उनको जादूलाई हेर्छन्। धेरै पटक उनलाई ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनासँगसमेत तुलना गरिन्छ। यद्यपि यी दुई महान खेलाडीले विश्वकप जित्दा उनले भने अहिलेसम्म त्यसको स्वाद चाख्न पाएका छैनन्।

यद्यपि अझै पनि विश्वभर रहेका मेस्सीका फ्यान उनले विश्वकप जित्नेमा विश्वस्त छन्। मेस्सीका फ्यानसमेत रहेका इङ्ल्यान्डका पूर्व फुटबलर एलन शियररले अर्जेन्टिना ‘मेस्सीकै कारण’ फाइनलमा पुगेको बताए। अर्जेन्टिनाको प्रत्येक जितपछि ‘मेस्सी, मेस्सी’ भन्दै स्टेडियममा समर्थन गर्ने र विश्वका कुनाकुनामा दीपावली मनाउने फ्यानहरू पनि यहि विश्वासमा छन्।

‘उनी (मेस्सी)सँग उस्तै गति नहुन सक्छ, तर अझै पनि उनको जादू छ,’ क्रोएसियामाथि अर्जेन्टिनाको जितपछि एलन शियररले भने, ‘उत्कृष्ट विपक्षीहरू पनि उनीहरूको खेलको अगाडि सामान्य देखिन्छन् तर वास्तवमा विपक्षी टोलीहरू त्यति खराब छैनन्।’

क्रोएसियाको हकमा पनि त्यस्तै भयो। ब्राजिललाई हराएर अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न आएको क्रोएसियाको टोली सेमिफाइनलमा यति सजिलै पराजित हुन्छ भन्ने कसैले सोचेको थिएन।

तर, सेमिफाइनल खेलको ३४औं मिनेटमा मेस्सीले प्रहार गरेको पेनाल्टी किक क्रोएसियाका गोलकिपर डोमिनिक लिभकोभिकलाई चकित पार्दै गोलमा परिणत भयो। यो गोलपछि क्रोएसियाली टोलीको डिफेन्स लाइनले आत्मविश्वास गुमायो भन्दा फरक पर्दैन।

प्रतियोगिताबाट आफ्नो टोली बाहिरिएपछि क्रोएसियाका प्रबन्धक ज्लात्को डालिचले मेस्सीको तारिफ गरे, ‘मेस्सीको बारेमा धेरै भन्न आवश्यक छैन। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्।’

सेमिफाइनलमा मेस्सीको जादू गजबको देखियो तर उनी एक खेलको मात्रै नायक भने होइनन्। यसअघिका खेलका रेकर्ड हेर्ने हो भने पनि फुटबल लिजेन्ड र फ्यानहरू उनलाई किन यति धेरै मन पराउँछन् भन्ने पुष्टि गर्छ।

क्रोएसियालाई पराजित गरेपछि सफलताको खुशी मेस्सीको अनुहारमा देखिन्थ्यो भने उनले त्यो खुशी बोलीमा पनि व्यक्त गरे।

फाइनल प्रवेश गरेपछि मेस्सीले भने, ‘मलाई एकदम रमाइलो लागिरहेको छ। विश्वकपमा आफ्नो टोलीलाई फाइनलमा देख्दा एकदमै धेरै खुशी छु।’

मेस्सीले यसअघि पनि यस्ता खुशीका क्षण देखेका छन्। सन् २०१४ मा पनि उनको टोली फाइनलमा पुगेको थियो तर जर्मनीले उनको सपना चकनाचुर पार्यो।

यसपटक पनि पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र ब्राजिलका लागि नेयमारले रच्न नसकेको इतिहास मेस्सीले अर्जेन्टिनाका लागि गर्न सक्लान् र भन्ने प्रश्न उठेकै छ।

ट्रफी र मेस्सीबीच अझै एक खेलको अन्तर छ। फाइनलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्स र मोरक्कोबीचको अर्को सेमिफाइनलको विजेतासँग खेल्नेछ।

महत्त्वपूर्ण अवसरमा अर्जेन्टिनाको टोलीलाई कसरी दवावमा राख्न सकिन्छ भन्ने उदाहरण पहिलो खेलमा साउदी अरेबियाको टोलीले प्रस्तुत गरिसकेको छ। दोस्रो सेमिफाइनलको बिजेताले यहि मन्त्र अपनाएको खण्डमा नतिजा अर्कै आउनसक्ने सम्भावना पछि छ।

पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले हराएको थियो। त्यो हारको पीडा मेस्सीको मनमा पनि छ। मेस्सी भन्छन्, ‘पहिलो खेल हाम्रा लागि ठूलो झट्का थियो। हामीले लगातार १६ खेल जितेका थियौं। साउदी अरेबियासँग हार्नेछौं भन्ने कल्पना पनि गर्न सकेनौं।’

मेस्सीले त्यो हारले पनि आफ्नो टोलीलाई एकताबद्ध बनाएको बताएका छन्।

उनी भन्छन्, ‘यो सम्पूर्ण टोलीका लागि एसिड टेस्ट थियो। हामी कति बलियो छौं भन्ने कुरा अहिले प्रमाणित गरेका छौं। हाम्रो लागि हरेक खेल फाइनल जत्तिकै महत्त्वपूर्ण थियो। हामीले पाँच फाइनल खेल जित्यौं अब आइतबार हुने फाइनल पनि यस्तै शैलीको हुनेछ।’

फाइनलमा प्रतिस्पर्धा गर्न आउने टोलीलाई मेस्सीको माइन्ड गेम राम्रैसँग बुझेको हुनुपर्छ। मेस्सीलाई मात्र घेरेर ट्रफी जित्ने चाहना राख्दा अवस्था क्रोएसियाको जस्तो नहोला भन्न सकिँदैन। क्रोएसियाले पनि सेमिफाइनलको पहिलो केही मिनेटमा नै यस्तै प्रयास गरेको थियो।

३५ वर्षीय मेस्सी निरन्तर खेलिरहेका छन्। अर्जेन्टिनाको टोलीले उनीमाथि अत्यधिक निर्भरता टोलीको लागि समस्याको कारण हुनसक्ने विज्ञहरू बताउँछन्।

मंसिर २८, २०७९ बुधबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।