वर्ल्डकपमा मेस्सीको जादु : ११ गोल, ८ गोलको सहयोगी

वर्ल्डकपमा मेस्सीको जादु : ११ गोल, ८ गोलको सहयोगी

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुग्यो। अर्जेन्टिना वर्ल्ड कपको फाइनलमा पुगेको यो छैटौँ पटक हो।

क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गर्दा क्याप्टेन लियोनल मेस्सीले एक गोल गरे। जुलियन अल्भारेजले  २ गोल गर्दा एक गोलका लागि मेस्सी सहयोगी बने।

योसँगै जारी विश्वकपमा मेस्सीले पाँच गोल गर्दै तीन गोलका लागि सहयोगी बनेका छन्। सन् २००६ को विश्वकपमा मेस्सीले पहिलो गोल गरेका थिए।

हालसम्म मेस्सीले वर्ल्डकपमा ११ गोल गर्दै ८ गोलमा निर्णायक सहयोगी बनेका छन्।

दोहाको लुसेल रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको थियो। क्रोएसियाको गोल्कीपरले डी बक्समा फल गर्दा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।

खेलको ३४ औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए।

खेलको ३९ औँ मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए। मेसीको सुन्दर पासमा दोस्रो हाफमा अल्भारेजले गोल थप्दै ३ गोल पुर्याए।

क्रोएसियाले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। अर्जेन्टिनाले २ पटक वर्ल्डकप जितेको छ। सन् १९८६ मा म्यारोडोनाको कप्तानीमा ट्रफी जितेयता अर्जेन्टिनाले वर्ल्डकपको फाइनल जित्न सकेको छैन।

मेस्सीको सुझबुझपूर्ण खेल रणनीति अनि संयोजनकारी भूमिकासँगै जादुगरी खेल कौशलले अर्जेन्टिना छैटौँ पटक वर्ल्डकपको फाइनलमा पुगेको छ। फाइनलमा अर्जेन्टिनाको प्रतिस्पर्धी बुधवार हुने फ्रान्स र मोरक्कोविचको खेलले तय गर्नेछ।

मंसिर २८, २०७९ बुधबार ०३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।