दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन, स्राेत नपुगे लेखेर पठाउन आग्रह

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा मंगलबार भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्।
गृहमन्त्रीले घाइतेको उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिए।
गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका हुन्।
घाइतेको उद्धार र उपचारमा कुनै कसर बाँकी नराख्न र स्रोतसाधनको कमी भएमा मन्त्रालयमा लेखी पठाउन मन्त्री खाणले निर्देशन दिएको प्रजिअ पाण्डेले बताए।
प्रजिअ पाण्डेका अनुसार मंगलबार साँझ बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना परेको थियो। दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।
घाइतेको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरिरहेको छ।
मंसिर २७, २०७९ मंगलबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।