१३ पूर्वआईजीपीकाे अपिल- 'सुरक्षाकर्मी र उनका परिवारलाई निराश बनाउने अध्यादेश तत्काल खारेज गर'

१३ पूर्वआईजीपीकाे अपिल- 'सुरक्षाकर्मी र उनका परिवारलाई निराश बनाउने अध्यादेश तत्काल खारेज गर'

काठमाडौं : नेपाल प्रहरीका १३ जना पूर्व प्रहरी महानिरीक्षक (आइजिपी)ले सरकारले राष्ट्रपतिकहाँ सिफारिस गरेको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ फिर्ता गर्न अपील गरेका छन्।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न मिल्ने गरी ल्याएको अध्यादेश फिर्ता गर्न उनीहरूले अपील गरेका हुन्।

मंगलबार बैठक बसेर पूर्वआइजिपीहरूले अध्यादेश संविधानको मर्मविपरीत, सर्वोच्च अदालतबाट जारी निर्णय र नजिरहरूको बर्खिलाप र फौजदारी न्याय प्रणालीको विपरीत भएको बताएका छन्।

यसबाट बहालवाला तथा निवर्तमान सुरक्षाकर्मी र निजका परिवारहरूलाई हतोत्साही र निराश बनाएको भन्दै तत्काल खारेज गर्न जोडदार माग गरेका छन्।

पूर्वप्रहरी महानिरीक्षकहरू मोतीलाल बोहरा, अच्यूतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, श्यामभक्त थापा, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापा क्षेत्रीले यस्तो अपील गरेका हुन्।

सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा 'नरसंहार' भएकाे थियाे।

मंसिर २७, २०७९ मंगलबार २१:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।