काभ्रेको बेथानचोकमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

काभ्रे : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना भएको छ।
बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा करिब एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए।
दुर्घटनामा घाइतेहरूमध्ये आठ जनाको बनेपास्थित शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रनाउ न्यौपानेले बताए।
दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ। बसमा सवार कति थिए भन्ने यकिन तथा मृतकको पहिचान हुन नसकको न्यौपानेले बताए।
मंसिर २७, २०७९ मंगलबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।