जेसीबी दुर्घटना हुँदा कर्णालीमा बेपत्ता दुई जनाको शव भेटियो

कालिकोट : जेसीबी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ।
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदीमा मंसिर २४ गते फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो।
बेपत्ता भएका मध्ये सोही गाउँपालिका–१ बस्ने २० वर्षीय उमेश गिरीको शव मंसिर २६ गते र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २३ वर्षीय जेसीबी चालक मंगल चुडारीको शव मंसिर २७ गते फेला परेको हो।
उनीहरूसँगै दुर्घटनामा परी हराइरहेका सोही गाँउपालिकाका १९ वर्षीय रक्तिम सार्कीको खोजीकार्य जारी छ।
मंसिर २४ गते आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कँदै गरेको प्रदेश नं ३–०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो।
खस्दा जेसीबीमा रहेका ८ जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु, ३ जना घाइते र ३ जना बेपत्ता भएका थिए।
मंसिर २७, २०७९ मंगलबार २०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।