पाकिस्तानी क्रिकेट बाेर्डलाई आईसीसीकाे कारबाही

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पाकिस्तानी क्रिकेट बाेर्डलाई कारबाही गरेकाे छ।
पाकिस्तान र इंग्ल्याण्डबीच जारी टेष्ट शृंखलाको पहिलो खेल खेलिएको रावलपिन्डी क्रिकेट स्टेडियमको पिचलाई आइसीसी एलिट प्यानल अफ म्याच रेफ्रीका एन्डी पाइक्राफ्टले ‘औसतभन्दा खराब’ भएको बताउँदै पिच र आउटफिल्ड अनुगमन प्रक्रिया अन्तर्गत एक डिमेरिट अंक दिएका हुन्।
बलरलाई अप्ठ्यारो पारेपछि पिचको निकै आलोचना भएको थियो। खेलको पहिलो इनिङ्समा इंग्ल्याण्डले ६५७ रन बनाएको थियो। जसमा पहिलो दिन नै इंग्ल्याण्डका ब्याट्सम्यानले ७५ ओभरमा ५०६ रन बनाएका थिए।
जवाफमा दोस्रो दिन पाकिस्तानले ५७९ रन बनाएको थियो। तर, अन्तिम दिन उत्कृष्ट बलिङ गरेको इंग्ल्याण्डले भटाभट विकेट लिँदै पाकिस्तानलाई पराजित गरेको थियो।
यो रंगशालाले छोटो समयमै दोस्रो पटक डिमेरिट पोइन्ट पाएको हो। यसअघि मार्चमा पाकिस्तान र अष्ट्रेलियाबीचको खेलपछि पनि पिचलाई ‘औसतभन्दा खराब’ भनिएको थियो।
यसबारे पाइक्राफ्टले भने, ‘यो एकदमै समतल पिच थियो, जसमा कुनै पनि बलरलाई मद्दत थिएन। यही कारणले ब्याट्सम्यानले छिटो रन बनाए र दुवै टोलीले ठूलो स्कोर बनाए। खेलमा यति धेरै ओभरपछि पनि पिचमा कुनै परिवर्तन भएन।’
पाइक्राफ्टको यो रिपोर्ट पाकिस्तान क्रिकेट बोर्डलाई पठाइएको छ।
मंसिर २७, २०७९ मंगलबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।