पुसमा निक्षेपको ब्याजदर घटबढ नहुने

काठमाडौं : बैंकहरूले पुसमा निक्षेपको ब्याजदर घटबढ नगर्ने भएका छन्।
नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार बैंकहरूले पुसमा निक्षेपको ब्याजदर नचलाउने भएका हुन्।
संघको निर्णयसँगै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको अधिकतम १०.१३३ प्रतिशतको ब्याजदरले निरन्तरता पाउने भएको छ।
रेमिट्यान्स निक्षेपमा भने बचत र मुद्दती दुवैमा न्यूनतम १ प्रतिशत विन्दुले बढि ब्याजदर दिनुपर्ने प्रावधान छ। जसमा लामो समयदेखि कुनै परिवर्तन गरिएको छैन।
अहिले बैंकिङ प्रणालीमा भइरहेको तरलता सहजीकरणका बाबजुद पुसमा आयकरको प्रथम किस्ता भुक्तानी गर्नुपर्छ।
पुनर्कर्जा सुविधा नवीकरण नहुने अवस्था र पुसपछि स्थानीय तहको सञ्चित कोषको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइने प्रावधानका कारण पुनः दबाव बढ्नसक्ने भएकाले पुसमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको कार्यकारी निर्देशक शर्माले जानकारी दिए।
उनको भनाइबाट पुसपछि बैंकहरूले ब्याजदर घटाउने अध्यधिक सम्भावनलाई जोड दिन्छ।
बैंहरूको निर्णयप्रति उद्योगी तथा व्यापारीहरूले भने असन्तुष्टि जनाएका छन्। बैंकहरूको बढि ब्याजका कारण आफूहरूले चर्को ब्याज तिर्नुपरेको तथा भारतीय वस्तुहरूसँग आफ्नो उत्पादनले प्रतिस्पर्धा गरिरहँदा चाहेर पनि मूल्य बढाउन नसकेको बताएका छन्।
मंसिर २७, २०७९ मंगलबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।