स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई एसियन हाइड्रोपावरको आई‍पीओ खुला

स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई एसियन हाइड्रोपावरको आई‍पीओ खुला

काठमाडौं: एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजी रु ३४ करोडको १० प्रतिशतले हुन आउने रु तीन करोड ४० लाख बराबरको कुल तीन लाख ४० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ।

त्यस्तै सर्वसाधारणमा निष्काशन गरिने शेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गर्ने शेयरमध्ये ४० प्रतिशत अर्थात् एक लाख ३६ हजार कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४  तथा सूर्याेदय नगरपालिका –११ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

त्यस्तै आयोजना अति प्रभावित क्षेत्रबाहेक इलामको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि बाँकी ६० प्रतिशतले हुने दुई लाख चार हजार कित्ता शेयर निष्काशन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ।

निष्काशन गरिने शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस १२ सम्म र ढिलोमा पुस २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन गरिने शेयरमा स्थानीयले प्राइम कमर्सियल, ग्लोबल आईएमइ, एनएमबि, सिभिल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् शेयर खरिदका आवेदन दिन सक्नेछन्।

मंसिर २७, २०७९ मंगलबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।