विश्वकप: मेस्सी भर्सेस मोड्रिच, लिभाकोभिच भर्सेस मार्टिनेज

काठमाडौं: कतारमा जारी विश्वकपमा आज सेमिफाइनलको पहिलो खेल हुँदैछ। लुसेल स्टेडियममा हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच भिडन्त हुँदैछ।
खेल नेपाली समयअनुसार राति १२:४५ मा हुनेछ। विजेता टोलीले फाइनलमा उपाधिका लागि फ्रान्स र मोरक्कोमध्ये एकसँग भिड्नेछ।
अर्जेन्टिना र क्रोएसियाबीचको यो खेललाई धेरैले 'एलएम १०'बीचको भिडन्त भनेका छन्। अर्थात्- लियोनल मेस्सी नम्बर १० र लुका मोड्रिच नम्बर १०। यी दुवै यो समयको उत्कृष्ट स्ट्राइकर हुन्। दुवै गोल गर्न सिपालु र दुवैले कुनै पनि समयमा खेल पल्टाउन सक्छन्।
यस्तै दुवै टोली टाइब्रेकरमा जित हात पार्दै सेमिफाइनलमा पुगेकाले यो भिडन्त दुवै टोलीका गोलरक्षकबीचको पनि हो। क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच र अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज दुवैको लागि यो प्रतियोगिता सुखद् नै छ।
यी दुई टोली सन् २०१८ को विश्वकपमा समूह चरणमा भिडेका थिए। त्यसबेला अर्जेन्टिना ३-० गोलअन्तरले हारेको थियो। तर त्यसयता अर्जेन्टिनाले आफूलाई धेरै सुधारेको र खेल आफ्नो पक्षमा पार्ने अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन्।
यता मेस्सी र मोड्रिच कुनै बेला बार्सिलोना र रियल मड्रिडमा प्रतिद्वन्द्वी पनि हुन्। र, यो विश्वकप उपाधि जित्ने दुवै खेलाडीका लागि अन्तिम अवसर हो।
यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा पुगेर मेस्सीको अर्जेन्टिना उपाधि जित्नबाट वञ्चित भएको थियो भने लगत्तै अर्को २०१८ को विश्वकपमा मोड्रिचको टोली क्रोएसिया फ्रान्ससँग फाइनलमा हारेको थियो।
ला लिगादेखि च्याम्पियन्स लिग, फिफा क्लब वर्ल्ड कपदेखि व्यक्तिगत बलोन डि ओर यी दुवै खेलाडीले सबै जितेका छन्। अब जित्न बाँकी उपाधि एउटा मात्र छ- त्यो हो विश्वकप।
त्यसैले पनि आजको खेल रोचक हुने धेरैको अनुमान छ।
मंसिर २७, २०७९ मंगलबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।