डा. तोसिमाको राजीनामा स्वीकृत

डा. तोसिमाको राजीनामा स्वीकृत

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा. तोसिमा कार्कीको राजीनामा स्वीकृति गरेको छ। काउन्सिलले नै डा. कार्कीको राजीनामा स्वीकृति गरेको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

काउन्सिलको निर्वाचित सदस्य डा. कार्कीले काउन्सिलबाट राजीनामा नदिई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन्। प्रतिनिधि सभामा सदस्यमा निर्वाचित भइसकेपछि गत आइतबार (१८ गते) राजीनामा दिए पनि कसले राजीनामा स्वीकृति गर्ने भन्ने विषयमा अन्यौलता थियो।

सो विषयमा स्वास्थ्य मन्त्रालयसँग परामर्श लिएर डा. कार्कीको राजीनामा स्वीकृति गरिएको रजिस्ट्रार डा. अधिकारीले जानकारी दिए।

‘राजीनामा स्वीकृति भइसक्यो,’रजिस्ट्रार अधिकारीले भने,‘हामीले मन्त्रालयमा सोधेर हाम्रै अध्यक्षले (राजीनामा स्वीकृति) गरिदिनुभयो। ’

काउन्सिलमा मन्त्रीपरिषद्ले मनोनयन गर्ने र निर्वाचन दुई तरिकाले सदस्य चयन हुने व्यवस्था छ। डा. कार्की भने निर्वाचनमार्फत सदस्य चयन भएकी थिइन्।

यस अघि डा. कार्की काउन्सिलको सदस्य भएको र सो पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी समेत गरिदिएको थियो। तर,सर्वोच्च अदालतले आयोगको निर्णय बदर गर्दै उनको उम्मेदवारी कायम रहने निर्णय गरेको थियो।

मंङ्सीर ४ मा भएको भएको निर्वाचनमा डा. कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएकी हुन्। 

मंसिर २५, २०७९ आइतबार १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।