दलका समानुपातिकमा विवादित इसाई धर्म प्रचारकदेखि मेडिकल कलेज सञ्चालकसम्म

काठमाडौँ : नेपाल परिवार दल नामको पार्टी गठन गरेर राजनीतिमा सक्रिय हुने प्रयास गरिरहेका एकनाथ ढकालको परिचय हो इसाई धर्म प्रचारक। विवादित क्रिश्चियन युनिभर्सल पिस फेडरेशन नेपालमा भित्र्याउने मुख्य व्यक्ति रहेका उनलाई एमालेले समानुपातिक सूचीबाट सांसदमा सिफारिस गर्यो।
एमालेभित्र ढकाल माधव कुमार नेपालसँग निकै निकट थिए। युनिभर्सल पिस फेडरेसनको नेपालमा हुने कार्यक्रममा मात्रै हैन नेपाल ढकालसँगै विभिन्न देश समेत पुग्थे।
नेपाल एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेपछि ढकाल ओली निकट बने। प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक सूचीमा पर्न सफल भएका उनी आबद्ध सङ्गठन शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्दै विभिन्न देशमा प्रतिबन्धै लगाइएको छ।
नेपाल युनिभर्सल पिस फेडरेशनको सम्मेलन गराएर तत्कालीन प्रधानमन्त्री ओलीलाई सहभागी गराएर जनप्रतिनिधीहरुलाई होली वाइन खुवाएको भन्दै उनीसँगै नेताहरूको तीव्र आलोचना भएको थियो।
एमालेले निर्वाचन कार्यालयमा बुझाएको समानुपातिकमा छानिएको सांसदहरूमा उनको नाम गोरखाबाट खस आर्य क्ल्स्टरमा राखिएको छ। उनी यसभन्दा अगाडि नेपाल परिवार दलबाटै सांसद भएर मन्त्री समेत भइसकेका छन्।
जनजाति कोटाबाट एमालेले समानुपातिक सांसदमा सिफारिस गरेको देवीप्रसाद भट्टचन व्यवसायी हुन्। बागलुङका उनी बैङ्क लगायतका क्षेत्रमा सक्रिय छन्। उनी यस अगाडि नेपाली कांग्रेसका संलग्न थिए। निर्वाचन अगाडि उनी एमालेमा प्रवेश गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्य सूचीमा सांसदमा सिफारिस गरेको डा चन्दा कार्की मेडिकल कलेज व्यवसायी हुन्। डा गोविन्द केसी मेडिकल शिक्षा सुधारको माग गर्दै अनशनमा बस्दा उनी विपक्षमा सक्रिय थिइन्।
उनी काठमाडौँ मेडिकल कलेज र नोबेल अस्पतालको व्यवस्थापनमा थिइन्। अहिले उनी भ्याली हस्पिटल प्रालीको व्यवस्थापन समूहमा संलग्न छिन्। उनको नाम सिफारिस गरेपछि पार्टीमा विवाद भएर केन्द्रीय सदस्य गणेश कार्कीले सार्वजनिक रूपमै पार्टीको आलोचना गरेका थिए।
उनले पार्टीका महासचिव मुकुल ढकालले गुरुमालाई समानुपातिकबाट सांसद बनाएको भन्दै आलोचना गरेका थिए।
कांग्रेसले खस आर्यमा समेटेको आरजु राणा पार्टी सभापति शेरबहादुर देउवाकी श्रीमती हुन्। २०७४ को निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा सहभागी भएकी उनी पराजित भएपछि यस पटक समानुपातिकमा बसेकी थिइन्। उनी निजी विद्यालयको सञ्चालक समितिहरूमा संलग्न छिन्।
अर्की मञ्जु खाँण गृहमन्त्री बालकृष्ण खाँणकी कान्छी श्रीमती हुन्। खाँण पनि उनको दोस्रो श्रीमान् हुन्। समानुपातिकमा उनको नाम पर्दा नै पार्टीमा विरोध भएको थियो। तर हटेन। पार्टीले निर्वाचन आयोगमा उनको नाम सिफारिस गरिसकेको छ। उनका श्रीमान् बालकृष्ण भने निर्वाचनमा पराजित भए।
मंसिर २५, २०७९ आइतबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।