सरकारी संरचना निर्माणमा ढिलाई गर्नेलाई मन्त्री चौधरीको प्रश्न- 'काममा ढिलाई गर्दा कमिसन बढ्छ ?'

काठमाडौं: शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्रालय सम्हालेलगत्तै खासगरी उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाहरूको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरूको अनुगमन गर्दा निर्माणमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
शनिबार भैँसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरूको स्थलगत निरीक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन्।
‘काममा किन ढिलाई भइरहेको छ? पाँच महिनापछि आउँदा पनि अवस्था किन उस्तै छ? ढिलाई गर्दा कमिसन बढ्छ?’ मन्त्रीले सम्बन्धित कर्मचारीलाई प्रश्न गरे।
यसपछि मुखामखु गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको भन्दै स्पष्टीकरण दिएका थिए।
‘कोभिड त सकिएन र?’ मन्त्रीले पुनः प्रश्न गरे।
‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर’, कर्मचारीले जवाफ दिए।
‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस्। मैले के गर्नु पर्याे मलाई भन्नुस्’, मन्त्री चौधरीले भने।
त्यसलगत्तै मन्त्री चौधरी भैँसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा निस्किए। त्यहाँ पनि सोचेअनुरूप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने र सम्बन्धित पक्षलाई छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए।
मंसिर २५, २०७९ आइतबार १३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।