पाँच सय हप्तामा बागमतीबाट २० हजार टन फोहर निकालियो

पाँच सय हप्तामा बागमतीबाट २० हजार टन फोहर निकालियो
तस्बिर: अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति

काठमाडौं: काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ। यस अवधिमा सफाई गरेर बागमतीबाट करिब २० हजार टन फोहर निकालिएको छ।

विसं २०७२ जेठ ५ गते बागमती सफाई महाअभियान सुरु भएको हो। त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाई गरिँदै आएको छ।

साप्ताहिकरूपमा यसरी सफाई गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाई महाअभियानले जनाएको छ। सफाई महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि बागमती पूर्णरूपमा सफा हुन सकेको छैन। फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन।

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बागमती नदीको फोहर सङ्कलन गरेका छन्। स्वतःस्फूर्तरूपमा स्वयंसेवी अभियानमा सहभागी हुँदै आएका छन्। सफाईमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउँछन्।

सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ। वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ।

जागरणमूलक बागमती सफाई महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाई अभियान सुरु गरिएको छ। यसबाट नदीको सौन्दर्य बढेको साह बताउँछन्।

सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमार्फत बागमती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको बागमती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ।

अधिकार सम्पन्न बागमती समितिको सञ्चालक सदस्यसमेत रहेकी डा. माला खरेल नदी किनारका सुकुम्बासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउँछिन्।

काठमाडौं महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले जानकारी दिइन्।

मंसिर २५, २०७९ आइतबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।