यी हुन् कांग्रेसले समानुपातिक सांसद सिफारिस गरेका तीन पुरुष र २९ महिला, आयोगले जाँच गरी सोमबार नाम सार्वजनिक गर्ने

काठमाडौं: निर्वाचनको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फको ११० मध्ये ३२ सिट प्राप्त गरेको छ। तर ३२ मध्ये जम्मा तीन जना पुरुष मात्र समानुपातिकबाट सांसद बन्ने भएका छन्।
प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये कांग्रेसबाट एक जना मात्र महिला निर्वाचित भएको र संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने संवैधानिक प्रावधान भएका कारण समानुपातिकमा तीन जना मात्र पुरुष छनोट भएका हुन्।
शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधि सभातर्फको समानुपातिक सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाइसकेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस भएका पुरुषमा दलितबाट जीवन परियार, खसआर्यबाट डा. प्रकाशरण महत र मधेशीबाट विमलेन्द्र निधि रहेका छन्।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेसबाट एक जना महिला मात्र निर्वाचित भएको र राष्ट्रिय सभा हाल कांग्रेसका दुई महिला सदस्य मात्र रहेकाले समानुपातिकतर्फ २९ जना महिलाको नाम पठाएको कांग्रेसले जनाएको छ।
प्रतिनिधि सभामा समानुपातिकतर्फबाट कांग्रेसले खसआर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र डा. प्रकाशशरण महतलाई चयन गरेको छ।
यसैगरी आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचनको नाम आयोगमा पठाएको छ भने मधेशी क्लष्टरबाट नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, नीनुकमारी कर्ण र विमलेन्द्र निधिको नाम पठाइएको छ।
दलिततर्फबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, जीवन परियार चयन हुँदा थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत तथा मुस्लिमबाट जावेदा खातुन जागाको नाम पठाइएको पार्टी कार्यालयले जनाएको छ।
निर्वाचन आयोगले समानुपातिक मतगणना सम्पन्न गरेपछि समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई बिहीबार तीन दिनको समय प्रदान गरेको थियो। शनिबारसम्म सबै दलले समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न नामावली बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले आज उक्त नामावली उपर जाँच गर्ने, सबै क्लष्टर तथा महिलाको सङ्ख्या पुगे/नपुगेको सम्बन्धमा हेर्ने पौडेलले बताए। दलहरूको समानुपातिक सूची केन्द्र र प्रदेश गरी आठ ठाउँमा छ। आयोगले आवश्यक जाँच र दलहरूको तयारीअनुसार सबै कार्य सम्पन्न गरी सम्भवतः सोमबार समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने जनाएको छ।
यी सबै प्रक्रिया सम्पन्न गरी यही मङ्सिर अन्तिमसम्ममा प्रतिनिधि सभाको राष्ट्रपतिलाई र प्रदेशमा सम्बन्धित प्रदेश प्रमुखलाई निर्वाचनको विवरण बुझाउने आयोगको लक्ष्य रहेको प्रवक्ता पौडेलले बताए।
त्यसपछि नयाँ सरकार गठन र नयाँ संसद् बैठकको तयारी प्रारम्भ हुनेछ।
मंसिर २५, २०७९ आइतबार ११:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।