रोनाल्डो र नेयमारलाई रुवाएको विश्वकप

रोनाल्डो र नेयमारलाई रुवाएको विश्वकप

काठमाडौँ : हाफ टाइमपछि मैदानमा आए पनि रोनाल्डोले मोरक्कोलाई १-० को नतिजा सुम्पनबाट उद्धार गर्न सकेनन्। विश्वकपको तेस्रो क्वाटर फाइनलको प्रारम्भमा उनी मैदानमा हैन बेन्चमा थिए।

पहिलो हाफमा पोर्चुगल मोरक्कोसँग १-० ले पछि परेपछि हाफ सुरु भए लगत्तै उनलाई मैदानमा पठाए। उनले गोल गर्न सक्ने केही राम्रो मौका निकालेका थिए। तर गोल भने हुन सकेन र क्वाटर फाइनलबाटै रुँदै रोनाल्डोसँगै पोर्चुगल टिमै बाहिरियो।

शुक्रवार बेलुका भएको पहिलो क्वाटर फाइनल प्रतियोगितामा क्रोएसियासँग पराजित भएपछि नेयमार यसरी नै भावुक भएका थिए जसरी शनिवार बेलुका रोनाल्डो भावुक हुँदै ड्रेसिङ रुममा गए।

कतार विश्वकपका समूह चरणको तीन खेलमा रोनाल्डो सुरुवाती चरणकै खेलमा परेका थिए। घानाविरुद्ध पेनाल्टीमा गोल गरे। तेस्रो खेलमा भने उनी बेन्चमा रहे। खेलको अन्तिमतिर मैदानमा आउँदा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरेर ६-१ को जित निकालिसकेका थिए।

क्वाटरफाइनलमा रोनाल्डो दोस्रो हाफमा मैदानमा आए। तर उनले पहिलो हाफको नतिजामा फेरबदल गर्न सकेनन्। १-० को नतिजा सुम्पिएर सन् २०२२ को विश्वकपको प्रतियोगिताबाट बिदा भए। उता मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टिमको रेकर्ड राख्यो। 

मंसिर २४, २०७९ शनिबार २३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।