रास्वपाको महासचिवले गुरुमा र कर्मचारीलाई समानुपातिकबाट सांसद बनाएको कार्कीको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नो गुरुमालाई गुरु दक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिँदा आफू र अर्का दीपक बोहोरा सांसद हुन नसकेको गम्भीर आरोप लगाएका छन्।
उनले १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन हुँदा खस आर्य खुलातर्फ दोस्रो नम्बरमा आफू र दीपक बोहोरा तेस्रो नम्बरमा रहेको उल्लेख गरेका छन्।
'समावेशी र आरक्षणको विषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरी महिलालाई राख्नुपर्ने हुन्छ,' उनले लेखेका छन् 'नियम त्यही हो। विधि त्यही हो। त्यही अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो। यसैले मेरो र दीपकजी( दीपक बोहोरा) को सांसद हुने पक्कापक्की नै हो। तर आफ्नालाई काखी च्यापियो।'
कार्की हालसालै पार्टीमा प्रवेश गरेका हुन्। बोहोरा न्युज २४ देखिनै रविको मुख्य सहयोगी हुन्। रवि जता जाँदा पनि उनले साथ दिँदै आएका थिए। रवि ग्यालेक्सीमा पुगेपछि दीपक पनि त्यतै लागे। उनी राजनीतिमा आएपछि उनी पनि ग्यालेक्सी छाडेर राजनीतिमा संलग्न भएका थिए।
खस आर्यमा पार्टीले डा. चन्दा कार्की र डोलप्रसाद अर्यालको नाम चयन गरेको थियो। यस अगाडि दलिततर्फबाट दुबै जना पुरुष पठाएकोमा कल्पना रोक्काले असन्तुष्टि जनाइसकेकी छिन्।
रास्वपाको समानुपातिक दलित कोटामा दुवै पुरुष, महिला नसमेटेपछि कल्पना विरोधमा
पार्टीले १३ समानुपातिक सांसदमा दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनीता कठायत चयन गरेको थियो।
मधेसीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असीम साहको नाम पार्टीले चयन गरेको थियो।
कार्कीले फेसबुकमा लेखेको उनको धारणा
म नि झन्डै सांसद भएको थिएँ। हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरु दक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए।
किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो। म खस आर्य खुलातर्फको दोस्रो नम्बरमा र दीपक बोहोरा तेस्रो नम्बरमा थियौँ।
समावेशी र आरक्षणको विषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरी महिलालाई राख्नै पर्ने हुन्छ।
नियम त्यही हो। विधि त्यही हो। त्यही अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो। यसैले मेरो र दीपकजीको सांसद हुने पक्कापक्की नै हो। तर आफ्नालाई काखी च्यापियो।
जति प्रयास गरे पनि थिति बसाउन सकिएन। म अन्तिमसम्म थिति, विधि भन्दै आवाज उठाइरहेँ। यत्रा मानिसहरूले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन।
मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु। तर यो यात्रा रमाइलो थियो। पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो। यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु।
अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईँको व्यक्तिगत अधिकारको कुरा हो। आफ्नो ब्रह्मले सही ठानेको निर्णय गर्नुहोला।
पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असीम सम्मान छ। अलग-अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ।
पुनः पुनश्च : माथिका कुनै पनि आरोप होइनन्। खोज्नु होला। प्रमाणित हुन्छन्।
मंसिर २४, २०७९ शनिबार १९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।