राप्रपाबाट पशुपति शमशेर सांसद बन्दा प्रकाशचन्द्र छुटे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक कोटामा सांसदको नाम चयन गर्दा प्रकाशचन्द्र लोहनी छुटेका छन्। शनिवार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिबाट ७ जनाको नाम टुङ्गो लगाएको थियो।
खस आर्य समुदायबाट पशुपति शमशेर जबरा पहिलो सूचीमा थिए। त्यसपछि रोशन कार्की र गीता बस्नेतको नाम थियो।
बैठकले आदिवासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामाको नाम चयन गर्दा मधेसीबाट बिना जयसवाल र दलितबाट अनिता नेपालीको नाम चयन गरेको छ।
प्रत्यक्षतर्फ महिला उम्मेदवार नहुँदा समानुपातिकमा महिलाको ३३ प्रतिशत पुर्याउनुपर्ने बाध्यतामा रहेको राप्रपाले २ जना मात्रै पुरुष छान्ने सुविधा पाएको थियो।
त्यसमा राणा र तामाङको नाम चयन भएपछि लोहनी छुटे। लोहनीको नाम खस आर्यमा दोस्रो नम्बरमा थियो। राप्रपामा पार्टी एकता गर्दा लोहनी र राणा अध्यक्षकै हैसियतमा थिए। एकता महाधिवेशनमा लोहनीले पार्टी अध्यक्षमा राजेन्द्र लिङदेनलाई खुलेर समर्थन गर्दा राणा भने कमल थापाको पक्षमा लागेका थिए।
मंसिर २४, २०७९ शनिबार १९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।