रास्वपाको समानुपातिक दलित कोटामा दुवै पुरुष, महिला नसमेटेपछि कल्पना विरोधमा

काठमाडौँ : समानुपातिकको बन्द सूचीमा सात दलित महिलाको नाम समावेश गरे पनि दुवै कोटामा पुरुष छानेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा विरोध भएको छ।
पार्टीले समानुपातिकतर्फ १३ सिट पाएको थियो। तर दलिततर्फको २ सिटमा दलितबाट सन्तोष परियार र शिव नेपालीको नाम सिफारिस भयो।
रास्वपाबाट प्रत्यक्षतर्फ निर्वाचित सातै जनामा एक जना पनि दलित महिला छैनन्। समानुपातिकको बन्द सूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा कल्पना रोक्का थिइन्। तर दुवै पुरुषको नाम सिफारिस भयो।
समानुपातिक सूचीको नाम सार्वजनिक भएपछि कल्पनाले पार्टी कार्यालयमै असन्तुष्टि जनाइन्। उनले २ जनाको नाम सिफारिस गर्ने सुविधा पाए पनि पार्टीले दुवै पुरुष छानेर दलित महिलाको अपमान गरेको उनले बताइन्।
‘पार्टीका नेताले भाषणमा हाम्रो पार्टीलाई समावेशी चरित्रको भनेर दाबी गर्नुहुन्छ। तर, समानुपातिकतर्फ सिफारिस भएका व्यक्तिको नामावली हेर्दा कति समावेशी रहेछ भनेर थाहा भयो' उनले भनिन्।
उनले पार्टीको निर्णय विरुद्ध पार्टी कार्यालय अनि निर्वाचन आयोगमा उजुरी दिने उनले बताइन्।
‘पार्टीको निर्णयले दलित महिलामाथि अन्याय भएको छ। यसका विरुद्ध हामी सशक्त आवाज उठाउँछौ। पार्टी कार्यालयदेखि आवश्यकता अनुसार निर्वाचन आयोगमा पनि उजुरी गर्छौ’ उनले भने।
रास्वपाले बन्द सूचीमा १०७ जनाको नाम राख्दा दलित समूहमा १४ जनाको नाम समावेश राखेको थियो। बन्द सूचीमा दलित महिलाबाट कल्पना रोक्का, रुपा शङ्कर, सविना विश्वकर्मा, जमुना विक, देवीमाया जिरेल, निर्मला देवी र सितादेवी पाँपरको नाम थियो।
१७ मध्ये दलित समूहको पहिलो नम्बरमा सन्तोष परियारको नाम थियो भने दलित महिलातर्फ पहिलो नम्बरमा कल्पनाको नाम थियो।
मंसिर २४, २०७९ शनिबार १८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।