यसवर्षको मानवअधिकार पुरस्कार मानवसेवा आश्रमलाई

यसवर्षको मानवअधिकार पुरस्कार मानवसेवा आश्रमलाई

काठमाडौं : नेपाल सरकारले यसवर्षको मानवअधिकार पुरस्कार संस्थातर्फ मानवसेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल सरकारले मानवअधिकार विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्ने गरेको छ।

यसवर्ष मानवअधिकार पुरस्कार प्रदान गर्न सार्वजनिक सूचनाअनुसार प्राप्त आवेदनको मुल्याङ्कन गरी विज्ञको सिफारिसको आधारमा उक्त पुरस्कार दिने गरिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरेको छ।

‘मानवसेवा आश्रम (काठमाडौं)लाई सडकपेटी तथा अन्य सार्वजनिक स्थलहरुमा परित्यक्त, असहाय, असमर्थ, बेवारिसे रुपमा रही अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार, उपचार परामर्श लापनपालन संरक्षण र त्यस्ता व्यक्तिको शव सद्गद तथा व्यवस्थापनलगायतका कार्य गरी मानव अधिकारको संरक्षणमा पुर्याएको योगदानका लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विसं २०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म सडकबाट झण्डै ८ हजार मानिसको उद्धार गरिसकेको छ। झण्डै एक हजार व्यक्तिलाई उनकै परिवारमा पुनर्मिलन समेत गराइसकेको छ।

हाल काठमाडौंलगायत १९ जिल्लामा रहेका २३ शाखा कार्यालयहरुबाट आश्रमले देशेभर भेटिएका सडकआश्रित मानवहरुको उद्धार गरी संरक्षण, उपचार तथा मनोविमर्श सेवा दिएर निको बनाइ परिवारमा पुनमिलन समेत गराउँदै आएको छ।

मंसिर २४, २०७९ शनिबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।