१६१ मतले पराजित शाक्यद्वारा सर्वोच्चमा पुनः मतगणनाको माग गर्दै रिट दर्ता

सुर्खेत: सुर्खेत- २ (क) मा कांग्रेसबाट प्रदेश सभा सदस्य उम्मेदवार कालीप्रसाद शाक्यले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय र यामलाल कँडेललगायतलाई विपक्षी बनाएर रिट दर्ता गदै मतगणनामा गडबडी गरिएको भन्दै पुन: मतगणना गर्ने व्यवस्था मिलाइदिन उनले माग गरेका छन्।
सुर्खेत- २ (क) बाट एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेल विजयी भएका थिए। १८ हजार ५६१ मतका साथ कँडेल विजयी हुँदा शाक्यले १८ हजार ४०० मत पाएका थिए। सो क्षेत्रमा १० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहँदा शाक्यले भने मतगणनामा चित्त नबुझेकाे भन्दै सर्वोच्चसम्म पुगेका हुन्।
शाक्य र कँडेलबीचको मतान्तर १६१ मात्रै हाे। यस्तै माओवादी केन्द्रका सूर्यबहादुर खत्रीले तीन हजार ६८५ मत ल्याउँदा एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायले एक हजार २७५ मत प्राप्त गरेका थिए।
कँडेल एमालेबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीका दावेदार हुन्। उनले यसअघि पनि मुख्यमन्त्रीकाे दावी गर्दै प्रदेश सभामा पाँच वर्ष बिताएका थिए।
कँडेल र शाक्य २०४९ सालमा वीरेन्द्रनगरकाे मेयरका लागि पनि प्रतिस्पर्धी थिए। त्यसबेला कँडेलले निर्वाचन जितेका थिए।
कँडेल यसअघि २०७४ मा मुख्यमन्त्रीको आकांक्षासहित सुर्खेत क्षेत्र नं २ (क) बाटै प्रदेश सभामा चुनाव लडेका थिए। कँडेलले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरेका थिए।
कँडेलले २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए। त्यसबेला कांग्रेस एक्लै चुनावी मैदानमा थियो भने एमाले र माओवादीले वाम गठबन्धन गरेका थिए।
२०७४ मा एमाले र माओवादीबीचको गठबन्धनमा भागबण्डा हुँदा कर्णालीमा सरकारको नेतृत्त्व माओवादीको भागमा परेपछि कँडेल मुख्यमन्त्री बन्न पाएनन्। नेकपा विभाजन र एमालेकै सांसदहरूले फ्लोरक्रस गरेका कारण बहुमत हुँदाहुँदै पनि कँडेल मुख्यमन्त्री बन्न सकेका थिएनन्।
मंसिर २४, २०७९ शनिबार ०९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।