क्वार्टरफाइनलका अन्तिम दुई खेल आज, पोर्चुगल-मोरक्को र इङ्ग्ल्याण्ड-फ्रान्स भिड्ने

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलअन्तर्गत हाल क्वार्टरफाइनल चरणको खेल जारी छ। आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुनेछन्।
आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल भिड्नेछन्। यो खेल नेपाली समयअनुसार राति ८:४५ बाट सुरु हुनेछ। अफ्रिकी राष्ट्र मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो।
पोर्चुगल भने गत संस्करणमा उरुग्वेसँग हार्दै अन्तिम १६ बाट बाहिरिएको थियो।
यस्तै दोस्रो खेल फ्रान्स र इङ्ग्ल्याण्डबीच हुनेछ। यो खेल नेपाली समयअनुसार राति १२:४५ मा हुनेछ। गत संस्करणको विजेता फ्रान्स यसपटक पनि बलियो देखिएको छ। आफ्ना प्रमुख खेलाडीलाई चोटका कारण गुमाए पनि फ्रान्स यसपटक पनि उपाधिको दावेदार हो।
यता इङ्ग्ल्याण्ड अघिल्लो संस्करणमा चौथो स्थानमा थियो।
यसअघि हिजो सम्पन्न ब्राजिल र क्रोएसियाबीचको खेलमा टाइब्रेकरमा जित निकाल्दै क्रोएसिया सेमिफाइनलमा पुगेको छ। यस्तै आज बिहान सम्पन्न अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलमा पनि टाइब्रेकरमै पुगेर अर्जेन्टिनाले जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। यी दुई टोली एकापसमा सेमिफाइनल चरणमा भिड्नेछन्।
मंसिर २४, २०७९ शनिबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।