निर्वाचनमा दलहरूले महिलामाथि विभेद गरे : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने विषयमा महिलाहरूमाथि विभेद गरेको बताएका छन्।
निर्वाचन आयोगले शुक्रवार आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशिता’ विषयक कार्यक्रममा उनले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूलाई १० प्रतिशत समेत उम्मेदवार नबनाएको भन्दै दलहरूले ठुलो विभेद गरेको बताए।
‘निर्वाचन व्यवस्थापनको कुनै पनि क्रियाकलापमा लैगिक हिंसामा आयोगको शून्य सहनशीलताको नीति छ। उम्मेदवारीमा व्यापक रूपमा विभेद भयो भन्ने हामी देख्छौँ राजनीतिक दलहरूबाट’ उनले भने।
उनले निर्वाचनमा महिला हिंसाबारे कुनै उजुरी नपरेको बताए। कार्यक्रममा बोल्दै काठमाडौँ क्षेत्र नम्बर २ प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले महिलाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउन आयोगले पहल गर्नुपर्ने बताइन्। उनले आफूले महिला उम्मेदवार भएको कारण कुनै पनि विभेद भोग्नु नपरेको अनुभव पनि सुनाइन्।
मंसिर २३, २०७९ शुक्रबार १७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।