भ्रष्टाचार आरोपी साथमा राखेर ‘शून्य सहनशीलता’का नारा भजाउँदै प्रधानमन्त्री

भ्रष्टाचार आरोपी साथमा राखेर ‘शून्य सहनशीलता’का नारा भजाउँदै प्रधानमन्त्री

काठमाडौं : ठ्याक्कै ९ बजे बुकी र खादा लिएर लामबद्ध थिए अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायत आयोगका कर्मचारीहरू।

मुख्यसचिव, संघिय संसदका महासचिव, सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार, नेपाल राष्ट्र बैंकका गर्भनर, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, काठमाडौं विश्वविद्यालयका उपकुलपति, ट्रान्सपरेन्सी इन्टरनेशन नेपालकी अध्यक्ष, विभिन्न संवैधानिक निकायका प्रमुखहरू र सुरक्षा निकायका प्रमुखहरू लगायतले कार्यक्रम हल टनाटन भरिएको थियो।

कार्यक्रम प्रस्तोता घरी–घरी प्रधानमन्त्री आउनै लागेको जानकारी दिन्थिन्। पत्रकारहरू भने गठबन्धनको बैठक बालुवाटारमा भएकाले प्रधानमन्त्री आउन ढिला हुने होला भन्दै थिए।

एक घण्टा देशका करिब विशिष्ट श्रेणीका कर्मचारीहरू रोकिएका रोकियै भए। आ–आफ्नै सुरमा कोही गफ गर्दै थिए क्लस्टर बनाउँदै। १० बजेतिर कार्यक्रम प्रस्तोताले प्रधानमन्त्री आधा घण्टामा आइपुग्ने बताएपछि हल पूरै खाली भयो।

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगले गरेको कार्यक्रमको दृश्य हो यो। कार्यक्रमको शीर्षकले प्रधानमन्त्रीको समयप्रतिको वेवास्ताले गिज्याइरहेको थियो।

हुन त कुनै पनि कार्यक्रम समयमा नहुनु नौलो होइन। राज्यका विशिष्ट श्रेणीका कर्मचारीलाई पर्खाएर सबै कामै ठप्प बनाएर भ्रष्टाचार मुक्त समाज कसरी बनाउने हुन् शीर्ष भनिएका राजनीतिक नेतृत्त्वलाई नै थाहा होला। तोकिएको भन्दा डेढघण्टा ढिला आएका प्रधानमन्त्रीले भ्रष्टचार मुक्त समाज बनाउने प्रतिबद्धता व्यक्ति गरे।

उनले भने, ‘भ्रष्टचारविरुद्ध शून्य सहनशिलता हाम्रो प्रमुख मुद्दा हो। हामी भ्रष्टाचार भएको सहन सक्दैनौँ। दोषीलाई कारबाही गर्छौँ।’

प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता भने पनि देउवा आफैँले सम्पत्ति विवरण बुझाएका छैनन्। त्यतिमात्र कहाँ हो र, फनपार्क भाडामा दिँदा भ्रष्टाचारको आरोप खेपेका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकप्रसाद गुरुङलाई भर्खरै सम्पन्न चुनावमा प्रतिनिधिसभाको टिकट दिए। गुरुङ मनाङबाट विजयी पनि भए।

प्रधानमन्त्रीको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको भनाइले उनैलाई गिज्याइरहेको थियो भने उनीभन्दा केही समय अघि मात्रै बोलेकी ट्रान्सपरेन्सी इन्टरनेशन नेपालकी प्रमुख पद्मिनी प्रधानाङ्गले जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको स्पष्टै बताएकी थिइन्।

प्रधानाङ्गले निर्वाचनमा तोकिएभन्दा बढि खर्च गर्नु, भोट किनिनू तथा ठेकेदार, व्यापारी र व्यवसायी संसदमा आउँदा नीतिगत भ्रष्टाचार बढेको बताइन्। मन्त्रिपरिषद्को निर्णय स्वार्थ समूहरूको हितमा हुने गरेको भन्दै उनले नेपाल गरिब राष्ट्रमात्रै नभएर संसारकै भ्रष्ट मुलुकमध्येको एक भएको पनि बताइन्। राजनीतिक भ्रष्टाचार बेलैमा रोक्नुपर्नेमा उनले जोड दिइन्।

ट्रान्सपरेन्सी इन्टरनेशनकी प्रमुख पद्यिनी प्रधानाङ्गले अख्तियारले साना माछलाई मात्र अनुसन्धान गरेको ठूला माछालाई छाडेको बताइन्। उनले सेक्युरीटी प्रिन्टिङ प्रेस, कोरोनाका बेला ओम्नी काण्डको छिटो अनुसन्धान गर्नुपर्नमा अख्तियारले त्यस्ता घटनाको वास्ता नै नगरेको बताइन्।

प्रधानाङ्गभन्दा केही समयपछि मात्रै बोलेका अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त पे्रमकुमार राईले भ्रष्टाचाररहित समाज निर्माण गर्न आयोग सदैव खटेको दाबी गरे। अनुसन्धानमा अधिकतम समय खर्च गरेको, सरकारी तथा गैरसरकारी संस्थाको गतिविधि आयोगले शुक्ष्म रूपमा हेरेको उनले जिकिर गरे।

मंसिर २३, २०७९ शुक्रबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।