बहुविवाह गरेकालाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता, यी हुन् विपक्षी

बहुविवाह गरेकालाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता, यी हुन् विपक्षी

काठमाडौं : बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

निर्वाचन आयोगमा निवेदन दर्ता गराउँदासमेत बहुविवाह गरेका व्यक्तिहरूलाई समानुपातिकको सूचीबाट हटाउने निर्णय नभएको उल्लेख गर्दै अभिवक्ता केदार लुईंटेलले रिट निवेदन दर्ता गराएका हुन्।

सर्वोच्च अदालतमा सो रिटमा आइतबार सुनुवाई हुने भएको छ। रिट निवेदनमा बहुविवाह गरी समानुपातिकको सूचीमा परेका व्यक्तिहरू, निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दलहरूलाई समेत विपक्षी बनाइएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसूरको रूपमा परिभाषित गरिएको उल्लेख गर्दै अभिवक्ता लुईंटेलले अझै पनि राजनीतिक दलले कानून निर्माण गर्ने विधायकमा सजाय पाउने कसूरदारलाई सिफारिस गरेबाट मुलुकमा विधिको शासनमाथिको चुनौति कायमै रहेको जिकिर गरेका छन्।

कानूनले कसूरदार मानेका व्यक्तिहरूलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन र उनीहरूमाथि कानूनबमोजिम कारबाही गर्न समेत रिट निवेदनमा माग गरिएको छ।

राप्रपाका प्रेमराज थाम्सुहाङलाई प्रदेश १ को समाुनपातिकको पहिलो सूचीमा, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का कृष्णबहादुर आलेलाई छैठौं नम्बरमा, नेपाल कम्युनिष्ट पार्टी (माले) ले प्रतिनिधिसभाको लागि समानुपातिक सूचीको एकसठ्ठीऔं नम्बरमा चयन भएका चिरञ्जीविराम थारु बुहविवाह गरेका व्यक्तिहरू हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिनिधि सभाको लागि समानुपातिक सूचीको सत्ताइसौं नम्बरमा चयन भएका अकवाल कविराज, लोकतान्त्रिक संघीय मञ्चबाट ज्ञान बहादुर इबुङ लिम्बु र एमालेबाट समानुपातिक प्रदेश सभा लुम्बिनीको लागि समानुपातिकको सूचीमा १२औं नम्बरमा चयन भएका चक्रपाणी शर्मा समेत बहुविवाह गरेका व्यक्ति हुन्।

बहुविवाहको कसूर गर्ने व्यक्तिलाई एकबर्षदेखि पाँचवर्षसम्म कैद वा दश हजार रुपैयाँदेखि पचासहजार रुपैयांसम्म जरिवाना हुने व्यवस्था रहेको र सरकारी निकायले बहुविवाह गरेको थाहा जानकारी पाएपछि अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा कानुनले कसूरदार मानिएका  व्यक्तिलाई विधायिकामा पु¥याउने कार्यले विधिको शासनको खिल्लि उडेको पनि रिट निवेदक लुईटेलको दावी छ।

मंसिर २३, २०७९ शुक्रबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।