शिक्षालाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पाैडेल

शिक्षालाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पाैडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षालाई उत्पादन र रोजगारसँग जोड्नुपर्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त सभारोहमा सहभागी छात्रछात्राहरूलाई बधाई दिँदै उनले नेपालको शैक्षिक र प्राज्ञिक पहिचानलाई विश्वसामु स्थापित गराउनुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘आजको प्रतिस्पर्धाको युगमा नपाली मौलिक परम्परा र ज्ञान सीपलाई विश्वसामु विकसित भएका ज्ञान सीपसँग मेल गराउँदै नेपालको शैक्षिक र प्राज्ञिक पहिचानलाई विश्वसामु परिचित र स्थापित गराउनुपर्ने भएको छ।’

मुलुकको जेठो र ठूलो त्रिविले नेपालको उच्च शिक्षाको विकासमा प्रशंसनीय भूमिका खेलेको उल्लेख गर्दै विश्वबजारमा प्रतिस्पर्धी बनाउन समय सापेक्षा यसको सुधार गर्नुपर्ने उनले बताए।

त्यस्तै नेपाल सरकारको तर्फबाट त्रिविको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री पौडेलले दिएका छन्।

उनले भने, ‘त्रिविका शिक्षक, विद्यार्थी र कर्मचारीका प्रतिनिधिसहित सरोकार राख्ने अन्य विभिन्न पक्ष लगायत पदाधिकारीहरुसँग छलफल गरी त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि सहयोग गर्न नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मन्त्री पौडेलले समारोहमा दीक्षित भएका सबै विद्यार्थीलाई बधाई दिँदै उज्जवल भविष्यको लागि शुभकामना समेत व्यक्त गरे।

मंसिर २३, २०७९ शुक्रबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।