सरकार गठनको अदृश्य प्रयासमा एमाले लागेको छैन: विष्णु पौडेल

सरकार गठनको अदृश्य प्रयासमा एमाले लागेको छैन: विष्णु पौडेल

बुटवल: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार गठनको अदृश्य प्रयासमा एमाले नलागेको बताएका छन्। सिट संख्याको हिसाबमा बहुमत नभएको बताउँदै सरकार गठनको पहल कदमी लिन आवश्यक नभएको उनले बताएका हुन्।

उनले आफूहरू सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिकामा रहने बताए।

बुटवल कालिका क्याम्पसको नवौँ वाषिकोत्सवमा शुक्रबार सम्बोधन गर्दै नेता पौडेलले भने, ‘एमाले सरकार गठनको खेलमा लागेको छैन। सत्ता गठबन्धनसँग पनि बहुमत त छैन। तर, बहुमतको नजिक छ। त्यस कारणले हामी चाहन्छौँ गठबन्धनले जोडजार गरेर बहुमत पुर्याई सरकार बनाओस्। हामी प्रतिपक्षमा रहन्छौँ।’

माओवादी केन्द्रसँग सरकार गठनका लागि एमाले कुनै छलफल नगरेको समेत पौडेलले स्पष्ट पारे। ‘जनमतको हिसाबले एमाले एक नम्बर पार्टी हो’ पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने, ‘एमालेलाई रोक्नका लागि गरिएका प्रयास असफल भएको छ। एमालेको अग्रता र शिष्टतालाई कसैले चुनौती दिन सक्दैन। तर, प्राविधिक रूपमा केही सिटले हामी दोस्रो भएका हौँ।’

सत्ता गठबन्धनसँग एक्लै लडेर एमाले अहिले अवस्थामा आउनु ठूलो सफलता भएको पौडेलको भनाइ छ। निर्वाचनको एमालेले छिट्टै समीक्षा गर्ने पनि पौडेलले बताए।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पौडेलले एमाले सरकारमा रहँदा वा प्रतिपक्ष रहे पनि रुपन्देहीको विकासलाई कनै अप्ठ्यारो नपर्ने बताए। सबैसँग एकताबद्ध भएर यस क्षेत्रको रुपन्देहीको विकासमा आफू सधैँ लाग्ने पौडेलले बताए।

मंसिर २३, २०७९ शुक्रबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।