पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिँदै, अङ्ग्रेजी नयाँ वर्षमा सञ्चालन गर्ने तयारी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिँदै, अङ्ग्रेजी नयाँ वर्षमा सञ्चालन गर्ने तयारी

पोखरा: परीक्षण उडान सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज आपत्कालीन उद्धार अभ्यास गरिने भएको छ। विमानस्थलमा भैपरी आउने सक्ने आपत्कालीन अवस्थामा कसरी उद्धार गर्ने भन्नेबारे आज दिउँसो साढे १ बजे विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिने पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकेर उडानको तयारी अवस्थामा रहेकाले अब कुनै पनि आकस्मिक अवस्थामा आपत्कालीन उद्धार गर्न अभ्यास गर्नका लागि नागरिक उड्यायन कार्यलयले अभ्यास गराउन लागेको हो।

विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लोसहित एम्बुलेन्स आवतजावत एवं नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसको अभ्यास गर्नेछन्।

नागरिक उड्यायन प्राधिकरणले पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्षबाट विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

तोकिएको समयमा उडान गर्न भने समस्या देखिएको छ। पुस १७ भित्र उडानलाइ अवरुद्ध पार्ने विमानस्थालबाट पूर्वतर्फ रहेका रिठ्ठेपानीको ४० मिटर डाँडा काटिसक्नुपर्ने भए पनि हालसम्म करिब २० मिटर मात्र कटान गरिएकाले तोकिएको समयमा विमानस्थल सञ्चालन हुनेमा शंका छ।

त्यसैगरी विमानस्थल सञ्चालनको अर्को प्रमुख समस्याका रूपमा रहेको पोखरा- १४ बाच्छेबुडुवाको ल्यान्डफिल्ड समेत हटाइएको छैन। प्राधिकरणले पोखरा महानगरलाई ल्याण्डफिल्ड साइट सार्न पटक पटक आग्रह गरे पनि महानगरले नयाँ ल्याण्डफिल्ड साइटको व्यवस्था गर्न सकेको छैन। 

तर, महानगरले मंसिर १८ देखि पोखरा- १४ मा रहेको ल्यान्डफिल्ड साइटमा फोहोर नफाल्ने सूचना जारी गरे पनि फोहर फाल्ने नयाँ ठाउँका भने व्यवस्था गरिसकेको छैन।

मंसिर २३, २०७९ शुक्रबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।