नेप्से किन ओर्लियो यो साता ?

अघिल्लो साता १९६१.०७ मा पुगेको शेयर बजार बुधबार १९१७.२८ मा झरेर बन्द भएको छ। बिहीबार उभौली पर्व तथा यःमरि पुन्हि भएकाले सार्वजनिक बिदा परेको हुँदा शेयर बजार बन्द भयो। अब अर्को साता मङ्सिर २५ गते मात्रै शेयर बजार खुल्नेछ।
यो साता शेयर परिसूचक बढ्ने अर्थविश्लेषकहरूको अनुमान गलत सावित भयो। र शेयर बजार 'यसै हुन्छ' भनेर पूर्वानुमान गर्न कठिन हुने सत्य पनि पुनःस्थापित भयो। यो साता नेप्से परिसूचक यसरी ओरालो लाग्नुको प्रमुख कारण खरिद चापभन्दा बिक्री चाप बढ्ता हुनुलाई मानिएको छ।
तत्कालमा भने लामो समयदेखि बजार 'वियरिस ट्रेन्ड'मा भएकाले आम लगानीकर्ताको मनोबल सुधार हुन नसकेकाले पनि बजार सुस्त हुने क्रमले निरन्तरता पाइरहेको हो।
शेयर बजार यति सस्तोमा हुँदा पनि शेयर बजारका मुख्य खेलाडीहरू 'पर्ख र हेर'को अवस्थामा छन्। यसका पछाडिको प्रमुख कारण राजनीतिक जोड घटाऊ हो। अबको सरकार कसको नेतृत्त्वमा बन्छ र अर्थमन्त्री को हुन्छ भन्नेतर्फ सबैको ध्यान गएको छ। अर्कातिर पछिल्ला दिनहरूमा धमाधम मर्ज तथा एक्विजिसनमा गएका कम्पनीहरूको पुनः कारोबार खुला भइरहेको छ र यसले पनि बजारमा सप्लाई बढाएको छ। सेयर बजार घट्नुको कारण यो पनि हो।
जानकारहरू भन्छन्- 'देशको अर्थतन्त्रलाई बुझेको अर्थमन्त्री आयो भने जुनसुकै पार्टीको सरकार बने पनि शेयर बजारले सकारात्मक गति लिने पक्का छ। अहिले शेयरमा गरेको लगानी कुनै पनि हालतमा नडुब्ने हुँदाहुँदै पनि मानिसहरू शेयर किन्न हिच्किचाउनुको प्रमुख कारण भनेकै भावी सरकारले नियुक्त गर्ने अर्थमन्त्री हो।'
देशको अर्थतन्त्रमा सुधारको संकेत देखिनु, लाभांश घोषणाको समय हुनु, बैंकमा निक्षेप थपिँदै जानु र बैंकहरूले ब्याजदर घटाउने प्रक्रिया सुरु गर्न थाल्नु लगायतले शेयर बजारको सकारात्मक भविष्यको संकेत गर्दछ।
तर, तत्कालमा भने लामो समयदेखि बजार 'वियरिस ट्रेन्ड'मा भएकाले आम लगानीकर्ताको मनोबल सुधार हुन नसकेकाले पनि बजार सुस्त हुने क्रमले निरन्तरता पाइरहेको हो।
पहिलो कारोबार दिन आइतबार शेयर बजार अन्तिम समयमा पुगेर सकारात्मक देखिएको थियो। दिनभरजसो ओरालो लागेको बजार अन्ततः हरियो बनेर बन्द भएको थियो। सूचक २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा पुग्यो। सो दिन एक अर्ब ५६ करोडको शेयर कारोबार भएको थियो।
दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसूचक फराकिलो अंक २४.४६ ले घटेर १९३८.७६ विन्दुमा आयो। सूचक घटे पनि दैनिक कारोबार रकममा भने वृद्धि भएको थियो। त्यस दिन एक अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो।
तेस्रो कारोबार दिन अर्थात् गत मङ्गलबार पुँजी बजार सुस्त हुने क्रमले निरन्तरता पायो। तथापि, घट्ने दर भने अघिल्लो दिनको तुलनामा साँघुरो देखियो। यस दिन नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा आयो। सँगसँगै कारोबार रकम पनि खुम्चिएर साढे ९६ करोडमै सीमित भयो।
अर्को सातामा सत्तामा को पुग्छ भन्ने जोड घटाऊका यावत् खेलहरू पर्दा पछाडि खेलिने छन्। अर्थमन्त्रीका बारेमा पनि कुनै निश्चित दृष्टिकोण बाहिर आउने छ र त्यसले शेयर बजारलाई आफ्नो अनुकूल प्रभाव पार्ने छ। जुन हेर्न बाँकी नै छ।
चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा आएको छ। एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। लामो समयदेखि १९ सयको रेखामा घुमिरहेको बजारले यसलाई तोडेर दुई हजारको लाइनमा जान सकेको छैन। यही १९ सयकै रेखामा फेरि सानातिना करेक्सनहरू आइरहेका छन्।
समग्रमा यो साता नेप्से परिसूचक ४३.७९ ले घटेको देखियो। साताभरिमा जम्माजम्मी पाँच अर्ब ८५ करोडको कारोबार भएको छ। चार कारोबार दिनमा भएको यो रकमलाई औसतमा गणना गर्दा दैनिक सरदर एक अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको देखिन्छ जो केही हदसम्म सन्तोषजनक नै हो।
बजार एक्युमुलेसन चरणमा रहेकाले सुस्त भइरहेको अर्थविज्ञ बताउँछन्। शेयर बजारले विभिन्न चक्र पूरा गर्ने गर्छ। 'बुल' र 'बियर' दुई मुख्य चक्र हुन्। त्यसमा अरू थुप्रै सहायक चक्र र चरणहरू हुने गर्छन्। त्यसमध्ये अहिले 'एक्युमुलेसन' फेज चलिरहेको देखिन्छ।
अर्को सातामा सत्तामा को पुग्छ भन्ने जोड घटाऊका यावत् खेलहरू पर्दा पछाडि खेलिने छन्। अर्थमन्त्रीका बारेमा पनि कुनै निश्चित दृष्टिकोण बाहिर आउने छ र त्यसले शेयर बजारलाई आफ्नो अनुकूल प्रभाव पार्ने छ। जुन हेर्न बाँकी नै छ।
मंसिर २३, २०७९ शुक्रबार १०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।