राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक, निर्वाचन समीक्षा र समानुपातिक सांसद टुङ्गो लगाइने

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो।
बैठकले निर्वाचनको समीक्षा गर्ने बताइएको छ। पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टीको निर्वाचन परिणामबारे बैठकमा छलफल गरिनेछ।
यस्तै राप्रपाले भोलि बस्ने बैठकबाटै प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक सदस्यको टुङ्गो लगाउने भएको छ। राप्रपाले प्रतिनिधि सभामा समानुपातिकतर्फ सात सिट प्राप्त गरेको छ। यस्तै प्रदेशतर्फ कुल १७ सिट प्राप्त गरेको छ। यसअघि निर्वाचन आयोगमा बुझाएको बन्दसूचीअनुसार क-कसलाई सांसद बनाउने भन्नेबारे भोलिको बैठकमा छलफल गरिनेछ।
राप्रपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पनि सात सिट नै प्राप्त गरेको छ।
मंसिर २३, २०७९ शुक्रबार ०९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।